ढकमक्क फूल, निराश किसान

 कात्तिक २६, २०७७ बुधबार ८:१:३ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - भक्तपुरको सूर्यविनायक नगरपालिका ४ का सुशील खड्काले पुष्प व्यवसाय गर्न थाल्नुभएको २५ वर्ष भयो । झण्डै तीन करोड लगानीमा २० रोपनी जग्गामा उहाँको फूल खेती छ । त्यसमध्ये ५ रोपनीमा सयपत्री र मखमली छ । नेपालमा संगठित रुपमा रहेका झण्डै ७ सय पुष्प व्यवसायीमध्ये खड्का धेरै लगानी गर्नेमध्येका एक हुनुहुन्छ । 

फूल खेतीमा सन्तुष्ट खड्का यसवर्ष निराश हुनुहुन्छ । विगतमा यति धेरै निराश कहिल्यै हुनुपरेको थिएन । भूकम्प गएको वर्ष फूलको कारोबार केही कम भए पनि घाटा भने लागेको थिएन । तर यसपालि झण्डै ९ महिना फूलको कारोबार ठप्पै भयो । ‘लकडाउन र निषेधाज्ञामा कारोबार शून्य नै भयो । लकडाउन खुल्यो, त्यसपछि अहिले २०/२५ प्रतिशत कारोबार सुरु भएको छ’ उहाँले भन्नुभयो, ‘अहिले जेनतेन फर्म व्यवस्थापन र स्टाफ खर्च चल्न पुग्नेगरी बजार सहज हुँदैछ ।’

खड्काको जेएस नर्सरीमा कोरोना सङ्क्रमण सुरु हुनुअघि १२ जना कामदारले काम गर्थे । कारोबार पनि राम्रै भएको थियो । तर नेपालमा कोरोना सङ्क्रमण देखिन थालेपछि सरकारले लकडाउन गर्यो । अरु क्षेत्रमा जस्तै पुष्प व्यवसायमा पनि नराम्ररी असर पर्न थाल्यो । फूलको कारोबार हुन छाडेपछि खड्काले ६ जना कामदार समेत कटौती गर्नुभयो । खड्का जस्तै अरु पुष्प व्यवसायीलाई लकडाउन र कोरोना सङ्क्रमण जोखिमका कारण ठप्प भएका विभिन्न क्रियाकलापले निक्कै असर पारेको छ । 

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा पनि गरेको थियो । सङ्क्रमण जोखिमकै कारण पर्यटन वर्ष स्थगित भयो । विगतमा भन्दा अझ धेरै फूलको कारोबार हुने आश जागेका पुष्प व्यवसायी पर्यटन वर्ष नै स्थगित भएपछि अझ निराश हुनुपर्यो ।

‘कोरोना भाइरसको सङ्क्रमण जोखिमकै कारण केही समय पर्यटक आउने सम्भावना छैन । त्यसमाथि मलमासले चाडपर्व धकेलिनु र मौसम अनुकूल नहुँदाको पनि असर देखिएको छ’ रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा रहेको लुम्बिनी नर्सरीका रमेश पाण्डे भन्नुहुन्छ, ‘तिहार ढिलो भयो, फूल छिटो फुले । अरु कार्यक्रममा पनि फूल बिक्थ्यो, तर त्यस्ता कार्यक्रमबाट पनि यसपालि बञ्चित हुनुपर्यो । फूल धेरै यत्तिकै नष्ट भयो ।’ 

तिहारमा पनि छैन उत्साह

नेपालमा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यसपछि आर्थिक गतिविधिसहित मठ मन्दिरमा पूजापाठ, सामाजिक संस्कार तथा विवाह ब्रतबन्ध, भेटघाट, जमघट, मेलापर्व, दिवस, उत्सवलगायतका सबैजसो क्रियाकलाप रोकिए । नयाँ वर्ष लकडाउनमा बित्यो । लकडाउन थपिँदै गयो । लकडाउन अवधिका ६ महिना फूलको कारोबार नै हुन सकेन ।

सरकारले गएको असोज पहिलो हप्तादेखि धेरैजसो आर्थिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेपछि केही चहलपहल सुरु भयो । तर धार्मिक तथा सांस्कृतिक क्रियाकलाप, चाडपर्व औपचारिकतामा मात्रै सीमित छ । मेला उत्सव भव्य गरी मनाउने अवस्था बनिसकेको छैन । दशैँमा कुनै रौनक देखिएन । फूलैफूलको पर्व तिहार आइसक्दा पनि विगतका वर्षहरुमा जस्तो उत्साह यसपालि छैन ।

कारोबार कम हुँदा फूल खेती गर्ने किसानलाई यतिबेला कुनै उमंग छैन । तिहारका मुख्य दिनहरुमा समेत फूलको कारोबार निक्कै कम हुने अनुमान छ । रंगीचंगी फूलको खेती गरेका व्यवसायी लाखौँ रुपैयाँ लगानी डुबेपछि बिरंगी बन्नुपरेको गुनासो गर्छन् । कोरोना भाइरस महामारी तथा बढ्दो सङ्क्रमण जोखिमकै कारण मारमा परेका पुष्प व्यवसायी यसपालि तिहारमा समेत कारोबार नहुने भएपछि थप चिन्तामा परेका छन् । 

इ-कमर्सबाट कारोबार गर्ने तयारी 

पुष्प व्यवसायीलाई यो पेशाबाट पलायन हुन नदिन सरकारले ध्यान दिनुपर्ने र आफूहरु पनि इ-कमर्सको माध्यमबाट घरदैलोमा नै सेवा पुर्याउने गरी तयारी अवस्थामा रहेको फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउनुहुन्छ । ‘झण्डै २० प्रतिशतले रोजगारी गुमाइसके । थप रोजगारी गुम्न नदिन र व्यवसायीलाई पलायन हुनबाट जोगाउन केही न केही कार्यक्रम ल्याउनुपर्छ’ उहाँले भन्नुभयो, ‘अहिले उत्पादन भएका फूल उपभोक्ता घरदैलोमा पुर्याउन इ-कमर्सको माध्यमबाट तयारी गरेका छौं ।’

विगतका वर्षहरुमा भारतबाट सयपत्री आयात गर्नुपर्ने अवस्था थियो । बिस्तारै नेपाल फूलमा आत्मनिर्भर बन्दै गएको छ । नेपालमा फूलमा झण्डै ६ अर्ब रुपैयाँको लगानी छ । अघिल्लो वर्षको तथ्याङ्क अनुसार एसोसिएसनमा आबद्ध झण्डै ७ सय पुष्प व्यवसायमा ४२ हजारले रोजगारी पाएका छन् । तर फ्लोरिकल्चर एसोसियसनका अनुसार यसवर्ष झण्डै २० प्रतिशत रोजगारी कटौती भएको छ ।

अघिल्ला वर्षमा दुई अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएकोमा यसवर्ष झण्डै तीन अर्बको कारोबार गर्ने अपेक्षा थियो तर कोरोनाका कारण फूलखेती गर्दै आएकाहरु व्यवसाय नै छोड्नुपर्ने अवस्थामा पुगेको पुष्प व्यवसायी गुनासो गर्छन् । 

छुट्टै राहतका कार्यक्रम छैन : कृषि मन्त्रालय

सरकारले पनि उनीहरुका लागि राहत तथा व्यवसायमा टिकाइ राख्न अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार पुष्प व्यवसायका लागि भनेर छुट्टै ठोस कार्यक्रम छैन ।

‘सरकारले अरुलाई जसरी सहुलियत दिंदै आएको छ, त्यसैगरी उनीहरुले पनि अर्थ मन्त्रालय र राष्ट्र बैंकले ल्याएको राहत प्याकेज अनुसार नै आवश्यक लाभ लिन सक्छन्’ मन्त्रालयका प्रवक्ता केसीले भन्नुभयो । कोरोनाको प्रभावले अर्थतन्त्रमा असर परेपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा पुनर्कर्जाको व्यवस्था छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया