बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनलाई पूर्ण बहुमत

 कात्तिक २६, २०७७ बुधबार ८:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहार विधानसभा चुनावमा नितिशकुमार र भारतीय जनता पार्टीको एनडीए गठबन्धनले  १ सय २५ सिट जित्दै पूर्ण बहुमत प्राप्त गरेको छ ।

यस्तै उनीहरूसँग निक्कै प्रतिष्पर्धामा रहेको लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले १ सय १० सिट पाएको छ । २ सय ४३ सिटको विधानसभामा बीजेपीको ७४, जेडीयूको ४३, हिन्दुस्थानी अवाम मोर्चाको ४ र विकासशील इसान पार्टीको ४ गरेर एनडीए गठबन्धनले १ सय २५ सिट जितेको हो ।

महागठबन्धनतर्फ भने राष्ट्रिय जनता दलको ७५, कांग्रेसको १९, सीपीएमएलको १२, सीपीएमको २ र सीपीआइको २ गरी तेजस्वी यादववाला महागठबन्धनको १ सय १० सिटमा जित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बिहारका नागरिकप्रति आभार व्यक्त गर्नुभएको छ । बिहारका नागरिकको आशीर्वादबाट एकपटक फेरि लोकतन्त्रको जित भएको उहाँले उल्लेख गर्नुभएको छ ।

यो जनादेशलाई आत्मनिर्भर बिहारको नयाँ रोडम्यापको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले यो नयाँ दशक बिहारको हुने  र आत्मनिर्भर बिहार त्यसको रोडम्याप हुने बताउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत बिहारले फेरि दुनियाँलाई लोकतन्त्रको पाठ पढाएको बताउनुभएको छ । यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीटरमा विपक्षी दललाई निशाना साँध्दै हर बिहारबासीको आशा र आकांक्षाको जित भएको बताउनुभएको छ । 

बिहार विधानसभाको तीन चरणमा चुनाव भएको थियो । बिहारमा गएको अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो । कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ । यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार सात सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया