शिक्षक सरुवालाई लिएर चिशंखुगढी गाउँपालिका र वडाबीच ‘दोहोरी’ : हाजिर नगराउन, रवाना नदिन वडाको परिपत्र

 कात्तिक २६, २०७७ बुधबार १४:३६:४१ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – चिशंखुगढी गाउँपालिकाको शिक्षा समितिले गरेको शिक्षक सरुवा तथा दरबन्दी मिलानसम्बन्धी निर्णय कार्यान्वयन नगर्न ३ नं. वडा कार्यालयले परिपत्र गरेको छ । 

गाउँपालिकाले असोज २९ गते पालिकाभित्र दरबन्दी मिलान तथा केही शिक्षकको सरुवा गरेको थियो । गाउँपालिकाको निर्णयले शिक्षकलाई मार परेको तथा पठनपाठनमा समेत असर पर्ने भन्दै वडा नं. ३ को वडा समितिले निर्णय नै गरेर सरुवा तथा दरबन्दी मिलानको निर्णय कार्यान्वयन नगर्न विद्यालयहरुमा परिपत्र गरेको हो । 

वडा नं. ३ का वडाध्यक्ष गंगा श्रेष्ठले वडाभित्रका ६ वटा विद्यालयलाई पत्र लेख्दै ‘शैक्षिक सत्रको मध्य समयमा गरिएको सरुवाले पठनपाठनलाई असर पार्ने भएकाले विद्यालयमा सरुवा भइ आउनेलाई हाजिर नगराउन तथा जानेलाई रवाना नदिन’ भन्नुभएको छ । गाउँपालिकाले गरेको निर्णयविरुद्ध अर्को निर्णय गर्न वडालाई अधिकार हुन्छ भन्ने विषयमा वडाध्यक्ष श्रेष्ठले टेलिफोनमा ‘हाम्रो वडाको निर्णय हो, के हुन्छ हेरौँ’ भन्ने जवाफ दिनुभयो । 

वडाको निर्णय अघि नेपाली कांग्रेस चिशंखुगढी गाउँपालिकाले शिक्षकको हकहित विपरीत सरुवा तथा दरबन्दी मिलान गरेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको थियो । गाउँपालिकाले नियमअनुसार गरेको निर्णय कार्यन्वयन गर्ने अडान लिएपछि ३ नं. वडा कार्यालयको निर्णय आफ्नो वडाभित्र कार्यान्वयन नगर्न विद्यालयहरुलाई परिपत्र गरेको छ । चिशंखुगढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेकपाले जितेको छ भने ३ नं. वडाका वडा अध्यक्ष गंगा श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ ।

वडाध्यक्ष मार्फत नेपाली कांग्रेसले गाउँपालिकाको निर्णय कार्यान्वयनमा अवरोध गर्ने प्रयास गरेको र त्यस्तो अवैधानिक प्रयासको औचित्य नभएको नेकपा चिशंखुगढीले जनाएको छ । 

क्षेत्राधिकार नमिच्न गाउँपालिकाको निर्देशन  

वडाध्यक्षको परिपत्रपछि गाउँपालिकाले आफ्नो मातहतभित्रका सबै विद्यालय तथा वडामा पत्राचार गर्दै गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले पत्र नै लेखेर क्षेत्राधिकार बाहिरका निर्णय नगर्न र शिक्षा नियामावलीअनुसार भएका निर्णय कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।  

वडाको परिपत्र सम्बन्धमा गाउँपालिका अध्यक्ष निशान्त शर्माले क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न वडालाई अधिकार नभएको बताउनुभयो । ‘कोरोना भाइरसका कारण विद्यालयको पठनपाठन बन्द भएको अवस्थामा गाउँपालिकाले विद्यालय सञ्चालन तथा दरबन्दी मिलान, शिक्षक व्यवस्थापनको काम गरेको हो, राजनीति गर्ने मुद्दा धेरै छन्, शैक्षिक वातावरण नधमिल्याउन आग्रह छ’, अध्यक्ष शर्माले भन्नुभयो । 

गाउँपालिकाले शिक्षा मन्त्रालयको दरबन्दी मिलानसम्बन्धी परिपत्र तथा चिशंखुगढी गाउँपालिका शिक्षा नियमावलीका आधारमा गाउँपालिकाभित्रका ४२ शिक्षकको दरबन्दी मिलान तथा सरुवा गरेको थियो ।    

शिक्षक सरुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न वडाले गरेको परिपत्र र निर्णय कार्यान्वयन गर्न गाउँपालिकाले दिएको निर्देशन । तस्बिर : शिवप्रसाद ढुंगाना 

अन्तिम अपडेट: चैत ५, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया