सप्तरीका किसानले लगाएकाे धान गाउँपालिकाले निःशुल्क काटिदिने

 कात्तिक २६, २०७७ बुधबार १५:५८:४४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – किसानलाई सहुलियत दिने उद्देश्यले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले निःशुल्क धानबालीको कटान सुरु गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण धान काट्न जनशक्ति नपाएको तथा पाकिसकेको धान खेतमै झरेर नोक्सानी हुन सक्ने भएकोले किसानहरुलाई सहयोग गर्ने उद्देश्यले धानबाली निःशुल्क काटिदिने निर्णय गरेकाे गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयाे ।  

चार वटा मेसिनमार्फत वडा नं ६ को मधेपुराबाट मङ्गलबारदेखि धानबालीको कटान थालिएको उहाँले बताउनुभयो । एउटा वडामा दुई वटा मेसिनमार्फत धानबाली कटान गरिने र त्यसका लागि गाउँपालिकाका सबै किसानलाई खबरसमेत गरिएको उहाँले बताउनुभयो ।

'एकातिर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न हामी सबै लागेका छौँ भने अर्कोतिर किसानले लगानी र निकै मेहनत गरी लगाएको धानबाली समयमै काट्न नसक्दा समस्या हुने देखेर गाउँपालिकाले निःशुल्क रुपमा कटान सुरु गरेको हो ।'

गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले गाउँपालिकाले चार वटा ट्याक्टर र चार वटा रिपर मेसिन खरिद गरी धानबालीको कटान सुरु गरेको बताउनुभयो  । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले गाउँपालिकाको आठ वटै वडामा गरी झण्डै एक हजार पाँच सय विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीको कटानको खर्च गाउँपालिकाले व्यहाेर्ने र मेसिन लगाएर काटिने गहुँ सम्बन्धित किसानले आफै भित्र्याउने जानकारी दिनुभयो ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नं ६ का खुशेश्वर यादव हर्षित हुँदै भन्नुहुन्छ, 'धान काट्ने जनशक्ति नपाइरहेको अवस्थामा गाउँपालिकाले सबै किसानको धान निःशुल्क काटिदिने निर्णय गरेपछि हामीलाई धेरै सहुलियत भएको छ ।' 

यसअघि लकडाउनको कारण किसानको खेतमै रहेको गहुँबाली गएकाे चैत महिनामा गाउँपालिकाले सबै खर्च व्यहाेरेर कटान गरिदिएको थियो । सात सय विघाको गहुँबाली कटान गर्ने लक्ष्य लिए पनि झण्डै अढाइ सय विघामा लगाइएको गहुँबाली कटान गरिएको थियो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया