खुलामञ्चकाे खाना अब प्रसूति गृह पछाडि

 मंसिर ३, २०७७ बुधबार १७:१९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीकाे प्रसूति गृह पछाडि सारिएको छ ।

खुलामञ्चमा खाना खुवाउँदा धुवाँधुलो हुने र यसबाट कोभिड–१९ सङ्क्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टिम नेपालले खुलामञ्चमै मङ्गलबार खाना खुवाएको थियो । त्यसपछि भने महानगरपालिकाले वैकल्पिक ठाउँ दिएको छ ।

महानगरपालिकाले थापाथलीकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडि रहेको खुला ठाउँ उपलब्ध गराएपछि बुधबारदेखि त्यही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो । नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले बताउनुभयो । उहाँले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथलीमा व्यवस्था गरिएको ठाउँमा खाना खान आउनसमेत आग्रह गर्नुभयो । 

काठमाण्डाै महानगरपालिकाले सार्वजनिक यातायात सुरु भएको अवस्थामा सार्वजनिक ठाउँहरूमा भिडभाड हुने गरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समस्या भएकाे भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले असहाय तथा अशक्तलाई भोजन गराउने सङ्घ संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताउनुभयो ।

स्वास्थ्य जोखिम, सङ्क्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक ठाउँमा भोजन गराउने नीति अनुसार नयाँ ठाउँको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

यस बाहेक काठमाण्डाै महानगरपालिकाले काम गर्न सक्नेका लागि हप्तामा दुई दिन काम दिने व्यवस्था गरेको पनि नगर प्रहरी प्रमुख सापकोटाले बताउनुभयो । त्यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न उहाँको आग्रह छ । काम गर्न सक्नेका लागि काम दिने र नसक्नेलाई निःशुल्क खाना खान खुवाउने नीति महानगरपालिकाले लिएको पनि सापकोटाले स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया