शौचालय दिवस: खुला दिसामुक्त घोषणा भए पनि कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहिन

 मंसिर ४, २०७७ बिहिबार ८:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर -  आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदैछ ।

विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसा पिसाब गर्ने गरेका छन् ।

सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा एक लाख १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ । घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रीत गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ ।

नेपाल खुला दिसामुक्त घोषणा भइसकेको छ । तर शौचालयको प्रभावकारी प्रयोग भने हुन सकेको छैन । बनाइएका कतिपय शौचालय पनि अव्यवस्थित र प्रयोगविहिन छन् । दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।

ललितपुरको मंगलबजार बनेको स्मार्ट सार्वजनिक शौचालयको आज मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्ने कार्यक्रम छ । यो सार्वजनिक शौचालय अपाङ्गता भएका, वृद्धवृद्धा र महिलामैत्री पनि छ । महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेसिनबाट आफैँ निकाल्न सकिने एरोसानकी सृष्टी महर्जनले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया