राजा वीरेन्द्रकाे निजी निवास 'श्री सदन' सर्वसाधारणका लागि खुला

 मंसिर ६, २०७७ शनिबार १७:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारदेखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । शनिबारदेखि खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताउनुभयो ।

इतिहासलाई जीवित राख्न सके मात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन/अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । देश तथा विदेशका अनुसन्धानकर्ताहरूका लागि श्री सदन खुला हुनु महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उहाँले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदिका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली इतिहासमा दुई सय ४० वर्षीय शाह वंश इतिहासको साक्षात् नमुनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताउनुभयो ।

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहे पनि कोभिड–१९ का कारण सम्भव नभएको बताउनुभयो । अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उहाँले बताउनुभयो । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाका नाम जिल्लाबाट राखिएको पनि उहाँले बताउनुभयो । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समय क्रमअनुसार सबै खुला हुने उहाँले बताउनुभयो ।

यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाइजहाज पनि अवलोकनका लागि राखिएको छ ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँ तलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार सङ्ग्रहालयमा परिणत भए पनि त्याे सदन बन्द रहेको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया