आर्क एन्ड ब्रिज प्रविधिको पुल अलपत्र : नयाँ प्रक्रियाबाट निर्माण गरिने

 मंसिर ७, २०७७ आइतबार ७:४९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको तीनकुनेमा वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको छ ।

निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट पुल बनाउन लागिएको हो । नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्क एन्ड ब्रिज) प्रविधिबाट वाग्मती पुल निर्माण गर्ने सम्झौता भएको थियो । अबको केही दिनमा ठेक्का सम्झौता हुने काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

पहिला ‘डिजाइन एण्ड बिल्ड’ का आधारमा पुल बनाउन सुरु भएको थियो । अब बन्ने पुल पनि पहिले जस्तै बन्ने तर बजेट केही बढ्न सक्ने आयोजनाका प्रमुख गुरु अधिकारीले बताउनुभयो । पुलको लम्बाइ, चौडाइ केही पनि परिवर्तन हुने छैन । नयाँ ठेक्का सम्झौतामा गएपछि पुल बनाउन झण्डै तीन वर्ष लाग्नेछ ।

पुलको निर्माणमा ढिलाइ भएको र भएको काम पनि गुणस्तरीय नभएको भन्दै सरकारले गएकाे आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले पप्पु कन्स्ट्रक्सनसँग साढे तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

प्राविधिक त्रुटि पाइएपछि सरकारले गएकाे वर्षको भदौमा बनेका संरचना भत्काएर नयाँ बनाउन भनेको थियो । त्यसपछि विभागले गएकाे वर्ष मङ्सिर ८ मा ठेक्का तोडेपछि कम्पनीले उच्च अदालतमा दुई र काठमाण्डौ जिल्ला अदालतमा दुई मुद्दा हालेको थियो । तर मुद्दा खारेज भएका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया