साढे ३ वर्षमा ‘फास्ट ट्र्याक’ को प्रगति १६ प्रतिशत मात्रै, पुल र सुरुङको काम सुरु हुन सकेन

 मंसिर ९, २०७७ मंगलबार १८:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्माण सुरु भएको साढे तीन वर्षमा काठमाण्डौ–तराई–मधेस द्रुत–मार्ग अर्थात् फास्ट ट्र्याक’ को भौतिक प्रगति १६ दशमलव १ प्रतिशत मात्रै पुगेको छ । ७२ दशमलव ५ किलोमिटर लामो फास्ट ट्र्याक निर्माण गरिरहेको नेपाली सेनाले अहिलेसम्म १६ दशमलव १ प्रतिशत भौतिक र ९ दशमलव ५२ प्रतिशत वित्तीय प्रगति रहेको जानकारी दिएको छ ।

२०७६ सालमा मन्त्रिपरिषद्ले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरे पनि काम भने २०७४ सालदेखि नै सुरु भएको थियो । फास्ट ट्र्याकको लागि अहिलेसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ ।

६ दशमलव ४१ किलोमिटर लामा तीन वटा सुरुङ निर्माण गर्नको लागि परामर्शदाता छनोट भएर काम सुरु गर्ने चरणमा पुगेको सेनाले जनाएको छ । पहाड काट्नुपर्ने र माटो पुर्नुपर्ने काम ८८ प्रतिशत सकिएको, १० दशमलव ५९ किलोमिटर लामा पुलको लागि परामर्शदाता छनोटको काम भइरहेको पनि सेनाले जनाएको छ ।

आयोजनाको लागि ८२ प्रतिशत जग्गा अधिग्रहण सम्पन्न भएको छ भने रुख कटान र वृक्षारोपण चलिरहेको छ । एक खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान रहेको फास्ट ट्र्याककाे निर्माण आर्थिक वर्ष २०८०/०८१ सम्म सक्ने लक्ष्य रहेको छ ।

२०७४ सालमा सरकारले फास्ट ट्र्याकको जिम्मा नेपाली सेनालाई दिएको थियो । 
 

तस्बिर : नेपाली सेना

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया