नयाँ शक्तिका नेता बुढ्थापाको हत्याका दोषी सार्वजनिक गर्न दलहरुको ध्यानाकर्षण

 साउन २८, २०७५ सोमबार २०:६:२६ | नेत्र शाही
unn.prixa.net

जुम्ला –नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य राधाकृष्ण बुढ्थापाको मृत्यु प्रकरणका दोषीलाई सार्वजनिक गर्न ढिलाई गरिएको भन्दै यहाँ राजनैतिक दलहरुले ध्यानाकर्षण गरेका छन् ।

जुम्लाका राजनैतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मिति २०७५ साल साउन २० गते राति चन्दननाथ –५, मा रहेको होटल सनलाइटको दक्षिणतिर शव फालिएको अवस्थामा गम्भीर ध्यानाकर्षणसहित घटना षड्यन्त्रपूर्वक भएको आशंका गरिएको बताइएको छ । साउन २० गते  बुढ्थापाको निधारमा गहिरो घाउसहित नांगै अवस्थामा त्यही ठाउँमा शव फालिएको थियो ।

प्रेस विज्ञप्तिमा घटना घटेको ९ दिन पुगि सक्दा पनि अनुसन्धान ढिलाई भई दोषी सार्वजनिक नगरिएका कारण आम नागरिकमा विभिन्न आशंकाहरु उत्पन्न भएकाले चाँडै अनुसन्धानलाई तीव्रता दिई  दोषीलाई सार्वजनिक गर्न सरकार र स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछौँ ।

दलहरुले जारी गरेको विज्ञप्तिमा सत्ता पक्ष, प्रति पक्ष र जुम्लाका सम्पूर्ण राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ । नेकपाका नेता तथा पूर्व संस्कृति पर्यटन नागरिक उडयन राज्यमन्त्री बलबहादुर महत, पूर्व सांसद डिल्लीप्रसाद काफ्ले, नेकपाका नेता पूर्णप्रसाद धिताल र मुनबहादुर कुँवर, नेपाली कांग्रेसका नेता देवेन्द्र शाही, राप्रपा प्रजातान्त्रिकका मनसुर सुनार, नेमकिपाका राजेश्वर देवकोटा ।नयाँ शक्ति नेपालका नरेन्द्रनाथ योगीसहितका नेताहरुले प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

प्रहरीमाथि परिवारको आशंका

पीडित परिवारले पत्रकार सम्मेलन गरी घटनाका दोषी अहिलेसम्म सार्वजनिक नगर्नुको कारण प्रहरीको संलग्नता हो कि भन्ने आशंका भएको आरोप लगाएका छन् ।  मृतक वुढ्थापाको घरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ७१ वुवा रामकृष्ण बुढ्थापाले जिल्ला प्रहरी कार्यालयकै एक जना अनुसन्धानमा काम गर्ने एक जनाप्रति आशंका भएको बताउनुभयो ।

दिनहुँ प्रर्दशन र ध्यानाकर्षण 

साउन २० गते बेलुकी पोने ९ बजेतिर घटना घटेको थाहा भएपछि जुम्ला बजारमा तनाव भएको थियो ।

घटनापछि तनाव भएको जुम्ला शान्त हुन सकेको छैन् । एकातिर घटनाका दोषी सार्वजनिक गर्न सकिएको अवस्था छैन भने अर्कोतिर पीडित परिवारले दिनहुँ प्रदर्शन गरी स्थानीय प्रशासन र प्रहरीलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा परिवारले चन्दननाथ –६, निवासी सनलाइट होटल सञ्चालक खड्गजित रोकाया र चन्दननाथ –६, का एंगल तामाङ लामालाई किटानी जाहेरी साउने २० गते दिइएको छ ।

सीआईबी बोलाउने तयारी

जिल्ला प्रशासन कार्यालयले घटनाको प्रमाणहरु जुटाइरहेको र अनुसन्धान तीव्र गतिमा भएको बताउँदै आएको छ । १७ जनासँग बयान लिइरहको र अनुसन्धान जारी रहेको प्रमुुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुयभो । 

घटनाको अनुसन्धानका लागि प्रदेशस्तरबाट अनुसन्धान टोली समेत माग गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । यसैगरी सीआईबीलाई समेत बोलाउने कि भन्ने विषयमा छलफल भैरहेको प्रहरी निरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १८, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया