‘चिनियाँ रक्षामन्त्रीकाे भ्रमणलाई भारतसँग नजाेडाैँ, दुवै देशसँग स्वतन्त्र सम्बन्ध कायम राख्नुपर्छ’

 मंसिर १५, २०७७ सोमबार १६:३२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गर्नुभएको छ । 

नेपाल एक स्वतन्त्र देश भएकाले छिमेकीहरूसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उहाँले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गर्नुभएको हो । चिनियाँ रक्षामन्त्री फेङ्हे आइतबार नेपालको एकदिने भ्रमणमा आउनुभएको थियो ।

रिपोर्टस क्लबमा भएको साक्षात्कारमा डा. भट्टराईले छिमेकीहरूसँग नेपालको सम्बन्ध जहिले पनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो देशसँग जोड्ने गल्ती गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जहिले पनि हामी स्वतन्त्र देश हौँ । अर्को स्वतन्त्र देशसितको सम्बन्ध स्वतन्त्र नै हो । त्यसलाई तेस्रो देशसँग जोड्ने कुरा अगाडि बढायौँ भने हामी फस्छौँ । त्यो गलत हामीले गर्नुहुँदैन । नेपाल भारतको सम्बन्ध दुई देशको स्वतन्त्र सम्बन्ध हो । नेपाल र चीनको सम्बन्ध पनि दुई देशको सम्बन्ध हो । अन्य जुनसुकै मित्रराष्ट्रहरूसँगको सम्बन्ध पनि हाम्रो स्वतन्त्र सम्बन्ध हुन्छ ।’ 

डा. भट्टराईले नेपाली सेनालाई वार्षिक रूपमा चीनले दिँदै आएको सहयोगको निरन्तरताबाहेक अन्य कुनै गतिविधि नभएको उहाँले बताउनुभयो । उहाँले भारतसँग सीमा विवादलगायतका विषयमा परराष्ट्रमन्त्रीस्तरीय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सम्बन्धित कमिटीहरूमा छलफल गरी टुङ्गोमा पुग्नुपर्ने बताउनुभयो । 

क्लबमा भएकाे कार्यक्रममा पूर्व रक्षामन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले चीन र भारत दुवै देशलाई सँगै लिएर नेपालले आफ्नो हितका लागि काम गर्नुपर्ने बताउनुभयो । नेपाल कुनै पनि देशतिर नढल्केर कुनै पनि देशको अहित हुने काम नगरेर आफ्नो उन्नति गर्नतिर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले चीन र भारत दुवै देशलाई आफ्नो विश्वासमा लिएर काम गर्नुपर्ने पनि बताउनुभयो । नेपालले युद्धको अवस्था ल्याउन दिन नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढी सदुपयोग भनेको नै यूएन पिसकिपिङमा मात्रै हो, नेपालको सीमामा सेनाले त्यति चासो दिएको छैन । त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ । सेना डाइरेक्ट जानु पनि हुँदैन । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनु पनि हुँदैन । सुगौली सन्धिमा हामीले धेरै गुमायौँ नि । हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो । नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन ।’ 

नागरिक अगुवा सुन्दरमणि दीक्षितले नेपालका राजनीतिक दल र नेताहरूलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको हितका लागि सोचेर अगाडि बढ्न आग्रह गर्नुभयो । दुई ठूला विकसित देशहरूको बीचमा रहेको नेपालले दुवै देशसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्न सके मात्रै प्रगति गर्न सकिने भएकाले व्यक्तिगत स्वार्थमा केन्द्रित नहुन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालीहरूले अलिकति बुद्धि लगाउन सक्यौँ भने, आफ्नो स्वार्थ र पार्टीको स्वार्थ छोडेर यी दुई देशसँग फाइदा लिन सक्यौँ भने, केही सिक्याैँ भने हामी धेरै माथि जान सक्छौँ । दलका नेताहरूले आपसको हित हेरेर चीन र भारतलाई लडाएर, झगडा गराएर आफ्नो पार्टीलाई मात्रै फाइदा हुने गरी अगाडि बढे नेपालको फल प्राप्त गर्दैन । त्यो फल प्राप्त गर्न सकिएन भने हाम्रो दुर्भाग्यपूर्ण अवस्था हुने छ । 

उनीहरूले आफ्नो देशको हितलाई हेरेर चीन र भारतसँगको सम्बन्ध विस्तार गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया