युरोपेली युनियनमा आवद्ध देशमा कोरोना खोपको प्रयोगबारे निर्णय हुँदै : डिसेम्बर २९ अघि नै खोप लगाउन अनुमति दिने सम्भावना

 पुस ६, २०७७ सोमबार १६:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली युनियनको औषधि नियामक निकायले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने बारेमा निर्णय गर्ने भएको छ ।

आर्म्सटर्डमस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले डिसेम्बर २९ अर्थात् पुस १४ गते अघि नै खोप लगाउन अनुमति दिने सम्भावना छ । जर्मनी र अरु युरोपेली देशले लगातार दबाब दिएपछि ईएमएले फाइजरको खोपलाई स्वीकृत गर्न लागेको खबरमा उल्लेख छ । बेलायत र अमेरिकाले यसअघि नै फाइजरका खोप प्रयोगमा ल्याइसकेका छन् ।

यो खोप अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले विकास गरेका हुन् । यस खोपलाई आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामक निकाय (एफडिए) ले अनुमति दिएको थियो । युरोपेली युनियनमा आबद्ध २७ देशले आगामी डिसेम्बर २७ अर्थात् पुस १२ गतेदेखि नै खोप लगाउने गरी तयारी गरेका छन् । तर ईएमएका प्रमुख एमर कूकले डिसेम्बर २९ सम्ममा अन्तिम निर्णय हुने बताउनुभएको छ ।

फाइजर–बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी रहेको प्रमाणित भएको छ । यो खोप तीन हप्ताको अन्तरमा दुई डोज लगाउनुपर्छ ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया