​काठमाडौंमा सुरु भयो कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलन

 जेठ १६, २०७५ बुधबार १४:१७:१६ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १६ – काठमाडौंमा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । 

कार्ल मार्क्स द्विशतवार्षिकीको अवसर पारेर बुधबारबाट काठमाडौंमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यता अनुसार अघि बढने स्पष्ट पार्नुभयो । 

उहाँले निर्वाचनको माध्यामबाट पनि कम्युनिष्ट पार्टीहरुले बलियो सरकार चलाउन सक्छन् भन्ने कुरा नेपालबाट विश्वका सबै कम्युनिष्ट पार्टीहरुले सिक्न सक्ने धारणा पनि राख्नुभयो । प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारको मुख्य लक्ष्य राजनीतिक स्थायित्व र जनताको चाहना अनुसारको विकास भएको पनि स्पष्ट पार्नुभयो । उहाँले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आफूहरुले सामाजिक न्यायमा आधारित अर्थतन्त्रमा जोड दिएको पनि बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई सशक्त बनाउँदै समाजवाद निर्माण गर्ने दिशामा नेपालका कम्युनिष्ट पार्टीहरुले एकपछि अर्को सफलता हात पार्दै आएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनको माध्यामबाट पनि जनताको अपेक्षा अनुसार काम गर्न सकिन्छ भन्ने नयाँ दृष्टान्त पेश गरेको पनि स्पष्ट पार्नुभयो । 

२ दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित ११ देशका कम्युनिष्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहेको छ । मुलुकलाई समृद्ध बनाउने अभियानमा यो अन्तराष्ट्रिय कम्युुनिष्ट पार्टीको सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया