पछिल्लो राजनीतिक अवस्थाप्रति निजी क्षेत्र चिन्तित

सुझबुझ र संयमतापूर्वक निर्णय लिइ देशलाई स्थिरतातर्फ लैजान आग्रह

 पुस ८, २०७७ बुधबार १९:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ–नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुनेमा तीन संस्थाले जोड दिएका छन् ।

तीन वटा छाता संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी कोभिड–१९ का कारण यसै त मुलुक आक्रान्त भइ अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित छ ।’ 

राजनीतिक स्थिरताको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्याेल सिर्जना गर्नेमा निजी क्षेत्र सशङ्कित एवम् चिन्तित भएको विज्ञप्तिमा उल्लेख छ । 

भर्खरै चलायमान हुन थालेको देशको अर्थतन्त्र र सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भीर असर पर्नेमा तीन वटै छाता संस्थाले चिन्ता जनाएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घले सम्पूर्ण राजनीतिक दललाई सुझबुझ र संयमतापूर्वक निर्णय लिइ देशलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका छन् ।   

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया