टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया सुरु

 साउन ३०, २०७५ बुधबार १९:१०:१४ | रासस

कैलाली – झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा बुधबार तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ ।

कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताउनुभयो । उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको छ । 

न्यायाधीश भट्टराईको इजलासबाट उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासो बढेको छ । टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुग्दैछ । 

घटनाका अभियुक्तमध्ये २३ जना पुर्पक्षका लागि कैलाली कारागार र एक जना (रेशमलाल चौधरी) केन्द्रीय कारागार तथा अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधारगृहमा राखिएको छ ।

टीकापुर घटनाका ५८ अभियुक्त रहेकामा २२ जना अझै फरार रहेको अदालतका स्रेस्तेदार कठायतले बताउनुभयो । थरुहट/थारुवान राज्यको माग गर्दै भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको झडपमा परी एक नाबालक र सात प्रहरीको मृत्यु भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया