सन् २०२० : कोरोना महामारीको वर्ष

 पुस १७, २०७७ शुक्रबार ८:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

अंग्रेजी वर्ष सन् २०२० बिदा भएर नयाँ वर्ष सन् २०२१ लागेको छ । सन् २०२० विश्वभरका लागि कष्टकर र पीडादायी भएर बित्यो । सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना महामारीले नेपालसहित विश्वभरको जनजीवन अस्तव्यस्त बनायो । कोरोना महामारीले लाखौंको ज्यान लियो ।

अहिलेसम्म कोरोनाका कारण १८ लाख १३ हजार भन्दा बढीको ज्यान गएको छ भने ८३ करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कोरोनाका कारण धेरैले रोजगारी गुमाए । ६ महिनाभन्दा बढी समय घरभित्रै थुनिनुपर्यो । समग्रमा सन् २०२० कोरोना कहरले बित्यो ।

यस्तै नेपालमा सत्तारुढ दलभित्रको किचलो, भारत र पाकिस्तानमा सलह आतंक, अमेरिकामा चुनाव तथा अन्तरिक्ष खोज अनुसन्धानका कारण पनि सन् २०२० चर्चामा रह्यो ।

विश्वभर कोरोना कहर

सन् २०२० मा संसार नै कोरोना भाइरसको चपेटामा पर्यो । लाखौं मानिसले ज्यान गुमाए, धेरै मानिसहरु अझै पनि भाइरस सङ्क्रमणविरुद्ध संघर्ष गरिरहेका छन् । कोरोना प्रकोपका कारण विश्वभर नै ठूलो आर्थिक मन्दी भयो । वर्षभरि कोरोना सङ्क्रमण, यसको रोकथाम, नियन्त्रण र खोप विकासमात्रै चर्चामा रह्यो र वर्षको अन्तिमतिर खोप निर्माणमा पनि सफलता मिलेको छ ।

अमेरिका, बेलायत, युरोपेली संघ, रुसलगायतका देशमा खोप लगाउने काम सुरु भैसकेको छ । अरु देशले पनि प्रक्रिया सुरु गरिसकेका छन् । नेपाललगायतका विकासोन्मुख देशमा पनि सहुलियत दरमा खोप पठाउने तयारी भैरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

तर बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएर विश्वका अरु देशमा पनि पुगेपछि फेरि चिन्ता बढाएको छ । खोपको आशासँगै नयाँ प्रजातिको कोरोना त्रासकाबीच सन् २०२१ सुरु भएको छ ।

अमेरिकामा चुनाव

सन् २०२० को अन्त्यतिर अमेरिकामा भएको चुनाव विश्वभरका लागि चर्चाको विषय बन्यो । नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरे । नयाँ वर्ष २०२१ सँगै बाइडेनले सत्ता सम्हाल्दैछन् ।

अमेरिकाको राष्ट्रपतीय चुनावसँगै विश्वमा एउटा महत्त्वपूर्ण रेकर्ड कायम भएको छ । अश्वेत एवं एसियन मुलकी महिला पहिलोपटक अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति बनेकी हुन् । 

यसैबीच अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो । तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ वर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको छ । 

चन्द्रमा यात्रा र महिला अन्तरिक्षयात्री

​वैज्ञानिक खोज र अनुसन्धानको हिसाबले सन् २०२० महत्त्वपूर्ण रह्यो । अमेरिकाको एपोलो र रुसको लुना मिसनपछि चीन चन्द्रमामा पुग्ने विश्वको तेस्रो देश बन्यो । नोभेम्बरमा उडेको  यान चन्द्रमाको सतहबाट माटोको २ किलो नमुना लिएर डिसेम्बरमा फर्कियो । यो यान रोबोटिक्स थियो ।

यस्तै अन्तरिक्षमा ११ महिना बिताएर नासाकी एस्ट्रोनट क्रिस्टिना कोच फेब्रुअरीमा फर्किइन् । उनले मंगल मिसन, गुरुत्वकर्षण, स्पेस रेडिएसन र यसले महिलाको शरीरमा पार्ने असरसम्बन्धी महत्वपूर्ण तथ्य संकलन गरिन् । नासाकाअनुसार यसभन्दा पहिले पेगी विटसनले २८८ दिन अन्तरिक्षमा बिताएकी थिइन् ।

महिला अन्तरिक्षयात्रीले अन्तरिक्षमा यति लामो समय बिताएको यो विश्वमै पहिलो मिसन होे । यस्तै अमेरिकाको निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको ड्रयागन क्याप्सुल अगस्ट २ मा १९ घण्टापछि समुद्री सतहमा अवतरण गर्यो । ४५ वर्षपछि अमेरिकाको अन्तरिक्षयान पहिलोपटक समुद्री सतहमा अवतरण भएको थियो । 

सलह आतंक र भारतमा किसान आन्दोलन

सन् २०२० को मध्यतिर भारत र पाकिस्तानमा सलह किराले आतंक फैलायो । सलहको झुण्डले लाखौं हेक्टरको क्षेत्रफलमा लगाइएको बाली नष्ट गयो । सलहको केही झुण्ड नेपाल पनि आइपुगेको थियो । सलहले क्षति व्यहोरेका भारतका किसान सरकारको नयाँ कानुनका कारण थप पीडित बने । भारत सरकारले किसानको हितमा कानुन ल्याएको भने पनि किसानले यसको चर्को विरोध गरे । 

अरु केही घटना

वर्षको अन्त्यमा युरोपेली संघबाट बेलायत बाहिरिएको छ । पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्योलमा परेको थियो । युरोपेली संघबाट बाहिरिएपछि अहिले व्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।

यस्तै इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरि नै तरङ्ग फैलायो । जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । विमानमा रहेका सबैको मृत्यु भएको थियो । 

यस्तै लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटमा परि झण्डै ८० जनाको मृत्यु भयो । यस्तै अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे हम्मे पर्यो । आगलागीको असर अन्य देशहरुमा पनि पर्यो । 

फुटबलका महान खेलाडी डिएगो म्यारोडोनालाई यसै वर्ष गुमाउनु पर्याे । उनले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएका थिए । म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए । योबाहेक सन् २०२० मा विश्वले अरु पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरुलाई गुमाएको छ । त्यसैगरी अरु धेरै दीर्घकालिन महत्त्व राख्ने घटनाहरु पनि भएका छन् । 

नेपालमा भने वर्षको अन्त्यमा राजनीतिक घटनाक्रमले नयाँ मोड लिएको छ । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रतिनिधिसभा विघटन भएको छ । यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अहिले नेकपाको एउटा समूह प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सडकमा छ भने अर्को समूह चुनावको तयारीमा जुटेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया