सन्दीपले  बिग बाशमा शनिबार पहिलो खेल खेल्ने

 पुस १७, २०७७ शुक्रबार १३:२२:१८ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बाश लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ ।

चौध दिनको अनिवार्य क्वरेण्टीनको समय सकिएपछि उहाँले पहिलो खेल उहाँको पुरानो क्लब मेलबर्न स्टार्सविरुद्ध खेल्न लाग्नुभएको हो । लामिछानेले मेलबर्नको स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका सुरुआतका छ खेल गुमाउनुभएको थियो । 

नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबाश लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वरेण्टीन बस्नुपर्ने भएका कारण उहाँ प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित हुनुभएको व्यवस्थापक शिवाकोटीले जानकारी दिनुभयो ।

उहाँ बुधबार क्वरेण्टीन मुक्त हुनुभएको हो । उहाँ सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । अहिलेसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबाशको तेस्रो स्थानमा रहेको छ । 

बिगबाश खेल्न लामिछाने गएकाे मङ्सिर ३० गते अष्ट्रेलिया जानुभएको हो । क्वरेण्टीन अवधि सकिएपछि उहाँ  नियमित अभयासमा जुट्नुभएको व्यवस्थापक शिवाकोटीले बताउनुभयो । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरू हुने बताइएको छ । उहाँले तेस्रो पटक बिगबाश लिग खेल्न लाग्नुभएको हो ।

लामिछानेले यसअघि दुई यामको बिगबाश मेलबर्न स्टार्सबाट खेल्नुभएको थियो । ती दुई याममा उहाँले कुल २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उहाँ अष्ट्रेलिया उड्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया