सबैको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक : कमल थापा

 पुस १७, २०७७ शुक्रबार १७:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रबार राप्रपाले काठमाण्डौमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा गणतन्त्र, सङ्घीयता तथा धर्म निरपेक्षताको पुनरावलोनक गर्दै राजतन्त्रको पुनर्स्थापना तथा देशलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम गरिनुपर्ने बताउनुभएको हो ।

प्रतिनिधि सभा विघटन हुनुमा वर्तमान सरकार, कुनै राजनीतिक दल तथा नेताहरूका मात्र नभइ १४ वर्षअघि सुरु गरिएको गणतन्त्रको बाटो र विचार नै दोषी भएको उहाँकाे भनाइ छ । गणतन्त्रको विकल्प खोज्दै राजादेखि विद्रोही विप्लवसम्म र कांग्रेसदेखि कम्युनिस्ट, मधेशवादी सबैको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयाे । 

देश इतिहासकै सर्वाधिक कठिन र सङ्कटपूर्ण घडीमा गुज्रेको भन्दै अध्यक्ष थापाले यस्तो बेलामा राजनीतिक दल र नेतृत्वले जिम्मेवारीपूर्ण ढङ्गबाट काम गर्न नसके राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डता सङ्कटमा पर्ने बताउनुभयो । नेताहरूले जिम्मेवारी निर्वाह गर्न नसके आगामी दिनमा परिस्थिति राजनीतिक दल र नेताहरूको नियन्त्रणबाहिर जान सक्ने प्रारम्भिक सङ्केत देखिइसकेको पनि अध्यक्ष थापाकाे भनाइ छ ।

नयाँ नेपाल बनाउने नाममा हिन्दू राष्ट्रलाई समाप्त पारेको, राजतन्त्र पाखा लगाएको तथा सङ्घीयताको नाममा जातजातिलाई विभाजन गरेपछि देश दिशाहीन भएको उहाँले बताउनुभयो । देश अभिभावक विहीन बन्दा देशमा विदेशीको चलखेल बढेको र नेपालको स्वाभिमान तथा सार्वभौमिकतामाथि प्रहार भएको उहाँको तर्क छ । लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको तथा केही राजनीतिक दल र नेताहरूले सर्वसत्तावादी शासन गर्न लागेको अध्यक्ष थापाले बताउनुभयो ।

राज संस्था र हिन्दू राष्ट्र राप्रपाको मात्र एजेण्डा नभइ आम नेपालीको एजेण्डा बनेकाले नागरिककाे माग र चाहनालाई सम्बोधन नगरे देश द्वन्द्वमा जान सक्ने अध्यक्ष थापाले बताउनुभयो ।

राजतन्त्रवादी र लोकतान्त्रिक शक्तिको एकताले नै देशमा शान्ति र स्थायित्व कामय हुने भएकोले निषेधको राजनीति नगरि सबै अटाउने समावेशी, साझा व्यवस्थाको निर्माण गर्नुपर्नेमा उहाँको जोड छ । अध्यक्ष थापाले देश बचाउन, प्रजातन्त्र, राष्ट्रियता बलियो बनाउन तथा आर्थिक समृद्धि ल्याउन राप्रपा सडकमा आएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया