अहिलेकाे व्यवस्था 'संसद्काे सर्वाेच्चता' कि 'प्रधानमन्त्रीकाे सर्वाेच्चता' ? : जितेन्द्रनारायण देव

 पुस १७, २०७७ शुक्रबार १९:४६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टीभित्र अल्पमतमा परेपछि संसद् विघटन गरेको टिप्पणी गर्नुभएकाे छ । 

शुक्रबारदेखि सुरु भएकाे राष्ट्रिय सभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले पार्टीभित्रको विवाद समाधान नगरि प्रधानमन्त्रीले जननिर्वाचित निकाय संसदमाथि आक्रमण गरेको बताउनुभएको हो । उहाँले संसद् विघटनको मुख्य कारक नै प्रधानमन्त्री भएको दाबी पनि गर्नुभयो । 

उहाँले भन्नुभयो, 'मेरो प्रश्न छ प्रजातन्त्र र लोकतन्त्रवादी र अग्रगमन चाहनेहरूको प्रश्न हो । तपाईँको पार्टीभित्र समस्या भयो । त्यो दलको समस्या हो । संसद् र देशको समस्या होइन त्यो । कि पार्टीभित्र बहुमत बनाउनुपर्थ्याे कि राजीनामा दिनुपर्थ्याे । पार्टीभित्र समस्यामा पर्ने अनि संसदलाई विघटन गर्ने ? दुनियाँमा कुनै पनि यस्ता देशभक्ति नेताहरूले कहीँ पनि यस्तो काम गर्देन । गर्दै गर्दैन ।'

उहाँले भन्नुभयो, 'आज राष्ट्रिय सभासँगै प्रतिनिधि सभाको पनि बैठक हुनुपर्ने थियो । तर सङ्घीय संसद्को एउटा अङ्ग मृत्यु शय्यामा छ । संविधानको धारा ८३ ले प्रतिनिधि सभा र राष्ट्रिय सभासहितको  दुई सदनको एउटा व्यवस्थापिका हुनेछ र त्यसलाई सङ्घीय संसद् भनिनेछ भन्ने उल्लेख छ । यो नेपाली राजनीतिको विशिष्ठ अवस्था हो । नेपाली जनताको ठूलो त्याग र तपस्या र बलिदानी, जनआन्दोलन, मधेश आन्दोलनलगायतका एकीकृत उपलब्धि सङ्घीय लोकतन्त्र धरापमा पर्ने हो कि ? भन्ने लक्षणहरू आकाशमा मडारिइरहेको छ । अग्रगमनका लागि लडेका हामी सबै चिन्तित अवस्थामा छौँ । म वर्तमान राजनीतिक अवस्थाका बारेमा र गएकाे ६ महिनादेखि ओली नेतृत्वले जुन ढङ्गले सरकार सञ्चालन गरेको छ, त्यसबारे दलको आधिकारिक धारणा राख्न चाहन्छु ।'

उहाँले संसद् विघटनपछि देशको अवस्था 'महाराजका नयाँ लुगा' शीर्षकको कथा जस्तै 'न्याकेड लुगाको अवस्थामा' रहेको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, 'एकातिर महाराजले जे गरेँ, ठिक गरेँ । प्रतिनिधि सभा विघटन गरेँ । संवैधानिक गरेँ । भनेर भन्दै हुनुहुन्छ तर पूरा देश यसलाई अप्राजातिन्त्रक र असंवैधानिक भनिरहेको छ । संविधानको धारा ७६ को १ देखि १० सम्मको असान्दर्भिक धारालाई जोडिएको छ । अहिले मुलुक राजनीतिक दुर्घटनाको विन्दुमा आइपुगेको छ । कुहिराको काग जस्तो भएको छ । यसको मुख्य कारण वर्तमान सरकार र मुख्य कारक तत्त्व प्रधानमन्त्री हुनुहुन्छ ।' 

संविधान निर्माणको समयमा संसद् विघटनको व्यवस्थाका सन्दर्भमा लामो बहस भएको स्मरण गर्दै उहाँले देशमा अस्थिर राजनीतिक अवस्था रहेकाले बारम्बार संसद् विघटन र सालैपिच्छे सरकार परिर्वतन हुने कुरा रोक्नुपर्छ भन्ने कारणले धारा ७६ को १ देखि १० सम्मको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । उहाँले ती उपधाराभित्र बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको दाबी गर्नुभयो । उपधारा १ देखि ७ को व्यवस्थाले पाँच पटकसम्म संसद्लाई टेस्ट गर्ने मौका दिएको र त्यसपछि मात्रै प्रतिनिधि सभा विघटनको कल्पना गरिएको बताउनुभयो ।  
उहाँले भन्नुभयाे, 'संसद् भनेको जनताको प्रतिनिधि बस्ने ठाउँ हो । त्यसैले यो मर्नु हुँदैन । जतिबेला पनि मारिनु हुँदैन । जनताको सार्वभौमिकतामाथि एउटा कार्यकारीले आक्रमण गर्न सक्दैन भन्ने मर्मअनुसार संविधानमा व्यवस्था गरिएको हाे ।'  

उहाँले अहिलेको व्यवस्था 'सुप्रिमेसी अफ द पार्लियामेन्ट हो कि सुप्रिमेसी अफ द प्राइमिनिस्टर ?' भनि प्रश्न गर्नुभयो ।  

उहाँले देशभक्ति र राष्ट्रियताको कुरा गर्ने कम्युनिस्ट नेताहरूलाई दक्षिण र उत्तरको फास्ट ट्र्याकबाट भएको चलखेलले नेपालको राष्ट्रियतालाई कति बलियो गर्छ ? भनि प्रश्न गर्दै यसबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । 

संवैधानिक आयोगलाई कार्यकारी प्रमुखको कब्जा, पञ्जा र छायाँमा जान दिनु हुँदैन भन्ने अवधारणाअनुसार संवैधानिक परिषद्का सदस्यको संरचना बनाएकाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश संविधानले बोकेको मर्म र प्रावधान विपरीत आएकाले फिर्ता गर्न माग गर्नुभयो ।

उहाँले भर्खरै मन्त्रीबाट निस्केका नेकपाका नेताले ४० करोडमा फोन ट्याप गर्ने मेसिन भित्रिएको र केही समय अगाडिदेखि सरकार आफ्ना विरोधी नेताहरूको फोन ट्यापिङमा लागेको भन्ने बताएको र समाचारमा पनि आएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गर्नुभयो । फोन ट्याप गर्ने काम फौजदारी अपराध र असंवैधानिक भएको टिप्पणी गर्नुभयो । 

सरकारले बिजनेस नै दिँदैन, सरकारले बिजनेस दिएन भने संसद् किन बस्नुपर्‍याे भन्ने गलत राजनीतिक चिन्तन रहेको भन्दै उहाँले विधेयकमाथि गर्ने छलफलबाहेक नागरिककाे र देशको समस्याका बारेमा बोल्ने काम पनि संसद्को भएको बुझ्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया