बर्ड फ्लुबाट बच्न यस्ताे छ सरकारकाे पूर्वतयारी

‘जुन फार्ममा बर्ड फ्लु देखिन्छ, त्याे राेगलाई त्यहीँ नष्ट गर्छाैँ’

 पुस २२, २०७७ बुधबार १९:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले बर्ड फ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ । हरेकजसो हिउँदमा नेपालमा बर्ड फ्लु रोगको प्रकोप देखिँदै आएको छ । नेपालका लागि आयातित रोग भए पनि विगत १० वर्षदेखि किसानहरूले यसको दुःख भोग्दै आएका छन् ।

केही दिन अगाडि छिमेकी राष्ट्र भारतको पश्चिम–उत्तर क्षेत्रमा बर्ड फ्लु देखिएको छ । छिमेकी देशमा यस राेगकाे प्रकाेप देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपक्षी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वरेण्टीनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिइएको बताउनुभयो ।

डा. निर्मलले कोभिड–१९ नेपालमा भित्रिएसँगै कृषि मन्त्रालयको विराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परीक्षणका लागि प्रयोगमा दिइएको र अहिले पशुपक्षीमा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले ती प्रयोगशाला क्रमशः पशुपक्षी रोगकै परीक्षणका लागि दिनुपर्ने बताउनुभयो । 

सरकारले बर्ड फ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरूलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रूपमा क्वरेण्टीन प्रयोग गर्न, हेल्थ सर्टिफिकेट लिन र कहीँ कतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गर्नुभयो । जाडो महिनामा आउने रोग भएकाले आगामी एक महिना विशेष सजगता अपनाउन पनि उहाँको आग्रह छ ।

यसै सन्दर्भमा डा. विमलकुमार गर्नुभएको संक्षिप्त कुराकानीकाे अंश–  

'कोभिड कहर नेपालमा सुरु भइसकेपछि बर्ड फ्लु नेपालमा आएको थिएन । बोर्डहरू सिल भएको, पशु तथा पशुजन्य पदार्थ कुनै पनि आयात भएको अवस्था थिएन । अहिले भारतमा बर्ड फ्लु देखिएकाे छ । हामी सचेत हुनुपर्छ । नेपालमा देखा परिसकेको त छैन तर सम्भावना रहन्छ । छिमेकी देशमा तथा सिमानामा आयो भने नेपालमा पनि स्वाभाविक हुन्छ ।

बर्ड फ्लु १० वर्षदेखि खेपिरहेका छौँ । यस वर्षको तयारी भनेको जहाँ फर्ममा बर्ड फ्लु देखियाे त्यहीँ त्यो रोगलाई समाप्त गर्ने वा नष्ट गर्ने भन्ने छ । पहिले तीन किलोमिटर वा पाँच किलोमिटर भन्ने थियो । अहिले त्यो छैन । पहिलो सूचना आउनेबित्तिकै टार्गेट त्यो फार्मलाई गर्छौ । हामीसँग अहिले बर्ड फ्लु आदेश छ । बर्ड फ्लु नियन्त्रण आदेशमा कन्ट्रोल रुम स्थापना गर्छौँ । एउटा यहाँ पनि छ, पशु सेवा विभागअन्तर्गत महानिर्देशकले हेर्नुहुन्छ ।

एउटा कुरा भनौँ, गएकाे वर्ष कतिपय रोगको नियन्त्रणमा केन्द्रीय सरकार र प्रदेश सरकारको तालमेल मिलेन । किनभने धेरैजसो यो रोग नियन्त्रणको स्रोतहरू र जिल्लाका कर्मचारीहरू प्रदेश सरकारअन्तर्गत परिसकेपछि अप्ठ्यारो भएको थियो । आदेशमा त्यससम्बन्धी संशोधन पनि गरिसकिएको छ । गृह मन्त्रालयसमेतको समन्वयमा रहेर बर्ड फ्लु रोग नियन्त्रण नियमावली नै बनाइरहेका छौँ । तर अहिले आदेशमै काम गरिरहेको अवस्था हो, पशु सेवा विभागको महानिर्देशकको संयोजकत्वमा । उहाँले तत्काल सम्बन्धित प्रदेशको सचिवसँग सम्पर्क गर्नुहुन्छ ।

हामीले यो बेलामा दुई कुरामा विशेष तत्परता देखाएका छौँ । प्रयोगशाला– जहाँ यससम्बन्धी रोगको निदान र पहिचान गर्ने र अर्को क्वरेण्टीन– जति पनि सीमा क्षेत्र छ, त्यहाँ ध्यान दिने । झन्डै एक खर्बभन्दा बढी लगानी भएको उद्योगलाई जोगाउनका लागि व्यवसायीहरू आफैँ पनि लाग्नुहुन्छ । प्रत्येक प्रदेशमा उहाँहरूसँग हाम्रो एउटा संयन्त्र छ ।

बर्ड फ्लु नियन्त्रण आदेशअनुसार यसलाई प्रमुख जिल्ला अधिकारीले 'ह्याण्डिल' गर्नुहुन्छ । कहीँ पनि यो रोग देखियो भने प्रयोगशालाले किटान गर्ने, क्वरेण्टीनकाे सुपरिवेक्षण गर्ने, तुरुन्तै बर्ड फ्लु नियन्त्रणको प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीले यसमा नियन्त्रणको प्रक्रिया अगाडि बढाउने ।

कोभिडको बेलामा झन्डै हाम्रो ५/६ वटा प्रयोगशाला कोभिड रोग पहिचानको लागि प्रयोग भइरहेको छ । प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुरलगायत चितवन, धनगढी, सुर्खेतमा प्रयोगशाला दिएका छौँ । हाम्रो पशुपक्षीमा रोग आइसकेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हामीले ती प्रयाेगशालाहरू पशुपक्षीकै लागि प्रयाेग गर्न दिन अनुरोध गरेका छौ । 

यो रोगको बढी प्रकाेप हुने चितवन वरिपरि, रुपन्देही, नवलपरासी, हेटौँडा, कोहलपुर, काठमाण्डाै वरिपरि  निगरानी गर्छाैँ । कहीँ ठूलो सङ्ख्यामा कुखुरा मरेको छ भने जानकारी दिनु हुन अनुरोध छ । बिरामी भयो भने मारेर गाडिदिने अथवा बेचिदिने गर्नुहुन्छ । गाड्दैमा भाइरस मर्दैन । कुनै न कुनै रूपमा अन्य क्षेत्रमा सङ्क्रमण हुन्छ । त्यसरी गाड्नु हुन्न । कुनै रोग छ भने आफैँले नगाड्नू, बेचबिखन नगर्नू । त्यसाे गरिएको पाए कारबाही गर्छाैँ ।

क्वरेण्टीनमा कडाइ गरेका छौँ । किसान आफै पनि सचेत हुनुहुन्छ । जाडो महिनामा आउने रोग भएकोले एक महिना विशेष सजगता रहन अपिल गरेका छौँ । बर्ड फ्लु फैलियो भने खपत घट्ने हुन्छ । किसानलाई अप्ठ्यारो पर्छ । बर्ड फ्लुको मारमा किसान नपरून् । सजग रहन अनुरोध गर्दछु ।'   

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया