अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्छ, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछ : गगन थापा

 पुस २४, २०७७ शुक्रबार १८:५५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर अनधिकृत काम गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा बोल्दै नेता थापाले नेपालको संविधानमा पाँच वर्षअघि प्रतिनिधि सभा विघटन गर्ने कुराको कल्पनासमेत नगरिएको बताउनुभयो । संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधि सभा भङ्ग गर्न पाउने कुरा कहीँ कतै नलेखेको भन्दै उहाँले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनधिकृत रहेको बताउनुभयो ।

संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाइने बताउनुभयो । कांग्रेसले याे कदम असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको नेता थापाको भनाइ छ ।

सर्वोच्च अदालतले संविधान पल्टाएर हेरि फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उहाँले बताउनुभयो । नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उहाँको भनाइ छ ।

नेता थापाले अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गर्नुभयो । असंवैधानिक कदमका विरुद्ध कांग्रेस दह्रो गरि उभिने र देशलाई संवैधानिक सङ्कटमा पर्न नदिने उहाँको भनाइ छ । नेपाली कांग्रेसले सरकारको यस कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया