चुनावी कार्यक्रम राेक्न माग गर्दै दाहाल–नेपाल समूह आयाेगमा

 पुस २७, २०७७ सोमबार १५:४६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी पार्टी नेकपाको दाहाल–नेपाल समूहले आउँदो वैशाख १७ र २७ गते हुने भनिएको चुनावी कार्यक्रम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सर्वोच्च अदालतको फैसला नआएसम्म चुनावी कार्यक्रम रोक्न आग्रह गरेको हो । 

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस्तो अवस्थामा चुनावी प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको दाहाल–नेपाल समूहले जनाएको छ । सर्वाेच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको दाहाल–नेपाल समूह पक्षका नेता लिलामणि पोखरेलले बताउनुभयो ।

साथै निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सम्बन्धित कागजातको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्र टुङ्गो लगाउने प्रारम्भिक काम मात्रै गरिएको र अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको नेता पोखरेलले बताउनुभयो । आयोगले आयोगको तटस्थतामा शङ्का नगर्न पनि भनेको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै चुनावको मिति घोषणा गर्नुभएको थियो । यसको विरोधमा सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ । केपी ओली पक्ष चुनावको तयारीमा जुटेको छ भने प्रचण्ड–नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ ।   

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया