ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्न हुँदैन : मन्त्री रायमाझी

 पुस २९, २०७७ बुधबार १६:१९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्न नहुने बताउनुभएको छ । 

बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्न नहुने बताउनुभएको हो । 

विद्युत् खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकाले एमसीसीलाई नपर्खिकन ट्रान्समिसन लाइनहरू देशकै लगानी अथवा अरू नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने उहाँले बताउनुभयो । एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने उहाँको भनाइ छ ।

ऊर्जामन्त्री रायमाझीले बेला–बेलामा विद्युत् जाने समस्या विद्युत् भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पार्नुभयो । विद्युतको अपर्याप्तताका कारण विद्युत् काटिएको नभइ पुरानो संरचनाका कारण बेला–बेला जाने गरेको उहाँको भनाइ छ ।

मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनका मुद्दाहरु नै गुम्ने स्थिति आएको कारण मध्यावधि चुनावमा जानु परेको बताउनुभयो । उहाँले मध्यावधि चुनावमा जानु प्रगतिशील कदम भएको टिप्पणी गर्नुभयो । देशको परिवर्तनको रक्षा गर्न चुनाव आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले प्रतिपक्षी दलहरु चुनावमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताउनुभयो ।

मन्त्री रायमाझीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीवारदेखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल–भारतबीचको अन्तर्विरोध न्यूनीकरण गर्ने विषयमा छलफल हुने जानकारी पनि दिनुभयो । मन्त्री ज्ञवालीको भारत भ्रमण परराष्ट्रमन्त्री स्तरीय नियमित भ्रमण रहेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया