झारफुक गरि सन्चाे बनाइदिने भन्दै ताताे फलामले डाम्दा एक जनाकाे ज्यान गयाे

 पुस २९, २०७७ बुधबार १९:१६:२६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलामले डाम्दा ज्यान गएको भएको छ । सदरमुकाम तम्घासमा झारफुक गरी सञ्चो बनाउने बहानामा तातो फलामले डाम्दा ६४ वर्षीय मुखियाको ज्यान गएको हो भने अन्य दुई जना घाइते भएका छन् । 

बुधबार दिउँसो १२ बजे मुखियालाई झारफुक गरि सञ्चो बनाइदिने बहानामा तातो फलामले शरीरमा डाम्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिनुभयो ।  

मालिका गाउँपालिका ६ अर्जे स्थायी घर भइ अहिले रेसुङ्गा नगरपालिका १ तीनधारामा भाडामा अस्थायी टहरा बनाइ बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीय श्रीमती शान्तीला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको अनुसन्धाबाट खुल्न आएको पन्तले बताउनुभयो ।

मुखिया ढाड दुख्ने बिरामी भइ झारफुकका लागि गएको पुस २५ गतेदेखि निरन्तर श्रेष्ठको साथमा हुनुहुन्थ्यो । मुखियासँगै रहेका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका ५ का पुनबहादुर दमाईकी श्रीमती टोपला दमाई पनि तातो फलामले डाम्दा घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । श्रेष्ठ दम्पती प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत ५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया