१६ प्रतिशत लाभांश पारित गर्दै ग्लोबल आईएमई बैंकको साधारण सभा सम्पन्न

 पुस २९, २०७७ बुधबार २०:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आइएमई बैंक लिमिटेडको १४ औँ वार्षिक साधारण सभा बुधबार बैंकको कर्पोरेट भवन कमलादी काठमाण्डौमा सम्पन्न भएको छ । 

आर्थिक वर्ष २०७६/०७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर र दुई प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

बैंकले गएकाे आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन मुनाफा चार अर्ब १७ करोड रुपैयाँ र करपछिको मुनाफा दुई अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । 

साधारण सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालनमा कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले बैंकले सङ्घीय सरकार तथा नेपाल राष्ट्र बैंकले अङ्गिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरूप अहिलेसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरू यस बैंकमा समाहित गरिएको बताउनुभयो । 

पहिलेकाे जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो र सबल बैंक बनेको बताउँदै उहाँले शेयरधनीको आकाङ्क्षा अनुरूप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता ढकालले व्यक्त गर्नुभयो । 

उहाँले बैंकले सदा झैँ आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप निक्षेप सङ्कलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकहरूलाई थप प्रभावकारी सेवा पुर्‍याउने बताउनुभयो । 

आर्थिक वर्ष २०७६/०७७ मा बैंकको ब्याज आम्दानीतर्फ गएकाे वर्षभन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाइरसका कारण बैंकको कर्जा लगानी रकममा एक अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापनबापत रकम छुट्याउनु परेकाले बैंकको खुद मुनाफामा ५ दशमलव ३१ प्रतिशतले मात्र वृद्धि भइ दुई अर्ब ९१ करोड रुपैयाँमात्र कायम हुन सकेको छ ।

अहिले बैंकले दुई खर्ब ४९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । 

त्यस्तै सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यका साथ बैंकले ७३ जिल्लामा दुई सय ६४ शाखा सञ्जालसहित झण्डै आठ सय सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले झण्डै २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । 

सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

साथै बुधबार नै सम्पन्न १४ औँ वार्षिक साधारण सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत चुनाव गरेको छ ।

अन्य सञ्चालक सदस्यहरूमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दीपक शर्मा पोखरेल (सर्वसाधारण) रहनुभएको छ । 

नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराउनुभएको छ । प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४ औँ साधारण सभामा बैंकका शेयर सदस्य, कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया