एसिया कप छनौट : नेपाली टोलीमा दुई अनुभवी खेलाडीले कमब्याक गर्ने सम्भावना

 साउन ३१, २०७५ बिहिबार १९:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आसन्न एसिया कपको छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला बन्द प्रशिक्षणमा छ ।

यसपटकको टिममा दुई अनुभवी खेलाडीले कमब्याक गर्नसक्ने प्रवल सम्भावना रहेको छ । भरपर्दा खेलाडी शरद भेषावकर चोटका कारण टिममा छैनन् भने शक्ति गौचनले यसअघि नै नेदरल्याण्ड्ससँगको खेलपछि विदेशी मैदानमा नखेल्ने घोषणा गरिसकेका छन् ।

यस्तो अवस्थामा नेपाली क्रिकेट टिममा फेरि एकपटक विनोद भण्डारी र सागर पुनको पुनरागमन हुने प्रवल सम्भावना देखिएको छ । मलेसियाको मैदानमा नेपालले एकजना अतिरिक्त स्पिनरलाई राख्नसक्ने भएकाले सागर पुन अलराउन्डरका रुपमा टिममा पर्न सक्नेछन् ।

पछिल्लो समय मलेसियामा व्यावसायिक क्रिकेट खेलेर तीन वटा सतक प्रहार गरेका सागरले आफ्नो पुरानो लयलाई समातेको प्रमाणित गरेका छन् । जसकाकारण उनलाई १९ खेलाडीको सूचीमा राखिएको पनि छ ।

यता एमसीसी र नेदरल्याण्ड्सबीचको खेलका लागि बन्द प्रशिक्षणमा परे पनि अन्तिममा अतिरिक्त खेलाडीमा परेका विनोद यसपटक टिममा पर्ने सम्भावना बलियो छ किनकी शरद नभएको अवस्थामा फिनिसरका रुपमा विनोदले मौका पाउन सक्नेछन् ।

यतिमात्र होइन, विनोद विकेटकिपर अनिलकुमार साहलाई रिप्लेस गर्न पनि सक्नेछन् । पछिल्ला दुई खेलमा अनिलको फर्म राम्रो देखिएको थिएन । उनले दुई खेलमा मात्र २५ रन बनाएका थिए । यस्तै युवा खेलाडी रोहित पौडेलले पनि नेदरल्याण्ड्स विरुद्ध एक खेलमा मौका पाए पनि राम्रो खेल्न सकेका थिएनन् । त्यसैले पनि विनोद र सागरको टिममा कमब्याक गर्ने सम्भावना बलियो देखिएको छ ।

एसिया कप छनोटका लागि नेपाली टिम पछिल्लो ३ दिनदेखि बन्द प्रशिक्षणमा रहेको छ । शनिबारसम्म टिमको अन्तिम नामावली पनि आउन सक्नेछ ।

यसपटक एसिया कपमा पहिलो हुँदै फाइनल चरणका लागि छनोट हुने बलियो सम्भावना बोकेको नेपाली टिमलाई ठूलो अवसर त छँदै छ त्यसमा पनि चुनौति अरु टिमलाई हराउनु रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया