परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल

 माघ २, २०७७ शुक्रबार १३:५७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशङ्करबीच शुक्रबार (आज) बिहान भेटवार्ता  भएको छ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन भारतको नयाँ दिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री जयशङ्करबीच हैदराafद हाउसमा बिहान भेटवार्ता भएको हो ।

भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । भेटपछि हैदराबाद हाउसमा दुई देशका परराष्ट्रमन्त्रीको सह–अध्यक्षतामा संयुक्त आयोगको बैठक सुरु भएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल हुने भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बैठकमा ईपीजी प्रतिवेदन ग्रहणलगायत कोरोनाविरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा धेरै विषयमा छलफल हुनेछ । सीमा विवादका विषयमा भने छलफल हुन्छ या हुँदैन भन्नेबारे खुलाइएको छैन ।

बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार (हिजो) भारत जानुभएको हो । बिहीबार पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकमा छलफल गर्ने विषयसूची तय गरेका थिए । मन्त्री ज्ञवाली शनिबार (भोलि) बेलुकी स्वदेश फर्कनुहुने कार्यक्रम छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया