काठमाण्डौ उपत्यकामा वायु प्रदूषण उच्च भएपछि आँखाका बिरामी बढे

 माघ ३, २०७७ शनिबार ९:५३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको हावामा प्रदूषणको मात्रा बढेसँगै आँखाका बिरामी पनि बढेका छन् ।

प्रदूषणको मात्रा बढेपछि आँखा रातो हुने, चिलाउने, पोल्ने, सुन्निने जस्ता समस्या लिएर बिरामीहरु अस्पताल पुग्ने गरेको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर इन्दुप्रसाद ढुंगेलले बताउनुभयो ।

उहाँकाअनुसार अहिले दैनिक तीन सय जनाको हाराहारीमा बिरामीहरु आँखा जाँचको लागि अस्पताल पुग्ने गरेका छन् । उनीहरुमध्ये धेरैमा प्रदूषणका कारण भएको समस्या देखिएको छ । दुई हप्ताअघि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको थियो । अहिले पनि देशका धेरै ठाउँमा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा रहेको छ । 

प्रदूषणका कारण हुने समस्या धेरैजसोको सामान्य उपचारमा ठिक हुने भए पनि दैनिक ५–६ जना गम्भीर प्रकृतिको समस्या भएका बिरामी समेत आउने गरेका डाक्टर ढुङ्गेलले बताउनुभयो ।प्रदूषणले आँखामा गम्भीर प्रकृतिको समस्या समेत देखिने हुँदा घरबाहिर निस्कँदा सावधानी अपनाउन डा. ढुङ्गेलले आग्रह गर्नुभयो । 

प्रदूषण धेरै भएको बेलामा घरबाहिर ननिस्कने, घरबाहिर निस्कँदा धुलो छेक्ने चस्मा लगाउने, आँखा बारम्बार सफा गरिरहने जस्ता सावधानीका उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो ।

आँखामा धुलो परेजस्तो हुने, बिझाउने, चिलाउने जस्ता नयाँ प्रकृतिको समस्या देखिए तत्काल आँखा अस्पताल जान पनि उहाँले आग्रह गर्नुभयो । आँखासम्बन्धी पुरानो समस्या भएकाहरुमा प्रदूषणले अझ बढी समस्या पार्न सक्ने भएकोले नियमित जाँच तथा औषधिको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 
 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया