लाइसेन्सकाे अनलाइन फाराम भर्ने काेटा प्रणाली भाेलिदेखि हट्ने

आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने तयारी

 माघ ८, २०७७ बिहिबार १४:२७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार (भोलि) देखि हट्ने भएको छ ।

दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।

कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो ।

यसैबीच अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रवक्ता भुसालले बताउनुभयो ।  

यसअघि कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम काेटा ताेकेर गएकाे पुस १४ गतेदेखि खुलेकाे थियाे ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया