भारतले नेपाललाई कोरोनाविरुद्धकाे खाेप सहयोग गर्नु मित्रताको प्रतीक : प्रधानमन्त्री

‘भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको छ’

 माघ ८, २०७७ बिहिबार १९:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले अनुदानमा दिएकाे कोरोना भाइरसविरुद्धकाे १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । 

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरूप कोरोनाविरुद्धकाे १० लाख डोज खोप हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले आवश्यक खोप खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरू भए मान्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोप पनि उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले नेपाललाई कोरोनाविरुद्धकाे खाेप सहयोग गर्नु मित्रताको प्रतीकको रूपमा रहेको उल्लेख गर्दै यसले दुई देशबीचकाे एकतालाई देखाएको बताउनुभयो ।

यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताउनुभयो । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया