‘शक्तिको उन्मादमा कानुन व्यवसायीलाई होच्याइयो, ओलीले माफी माग्नुपर्छ’

 माघ ११, २०७७ आइतबार १५:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसोसिएशनका पूर्व अध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादा नाघेर कानुन व्यवसायीमाथि आरोप लगाएको र होच्याएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्चमा बहस गरिरहनुभएका ९४ वर्षीय अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै ‘एक जना बाजेलाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो’ भन्ने अभिव्यक्ति दिएपछि बारका पूर्वअध्यक्षहरूले कडा विरोध र आपत्ति जनाएका हुन् । बारका पूर्व अध्यक्ष हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर थापा र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर कानुन व्यवसायीमाथिको यो प्रहारलाई सहेर बस्न नसकिने बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘२०१३ सालदेखि संस्थागत स्वरूपमा रहेकाे कानुन व्यवसायलाई तमासा देखाएको भनेर राजतन्त्रकालमा समेत सत्तापक्षबाट यत्तिको निर्लज्ज प्रहार भएको थिएन ।’

नेपालको कानुन व्यवसायको इतिहासका महत्त्वपूर्ण व्यक्ति कृष्णप्रसाद भण्डारीमाथि ओलीले बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा ओलीको शक्तिको अहङ्कार उन्माद भएको उनीहरूको भनाइ छ । 

यस्तो निम्नस्तरको टिप्पणी गरेबापत ओलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र अदालतको अवहेलना मुद्दामार्फत थप जवाफदेही बनाउन पनि चार जना पूर्वअध्यक्षले माग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया