नागरिकलाई निर्णय गर्न दिने कुरा तानाशाह हाेइन : प्रधानमन्त्री ओली

‘प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी’

 माघ ११, २०७७ आइतबार १६:४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी भएको बताउनुभएको छ । 

आइतबार अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा अपाङ्गतासँग सम्बन्धित विभिन्न सङ्घ–सङ्गठनहरूले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेर कराउनेहरू देशविरोधी भएको बताउनुभएको हो । 

असंवैधानिक भन्नेहरू संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि उहाँले बताउनुभयो । प्रतिनिधि सभा पुनर्स्थापना गर्न चाहनेहरू देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोपसमेत प्रधानमन्त्री ओलीको छ । 

संसद् पाँचै वर्ष हुनका लागि सांसदहरूको जागिर नभएकाले सांसदको काम हेरेर नागरिकलाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उहाँको भनाइ छ । आफूले शासक बन्ने गरि हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिहरूको साथमा सरकार रहेको बताउनुभयो । शारीरिक रूपले अशक्त, असक्षमहरूका लागि सरकार चाहिने भन्दै अशक्तहरूको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने ओलीले प्रतिबद्धता गर्नुभयो । उहाँले अहिले बालबालिकाहरू सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । सडकमा आउने बालबालिकाहरूलाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभूति सरकारले गराउने पनि उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शारीरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेस नखान आग्रह गर्नुभयो । देश विकासमा शारीरिक रूपमा अपाङ्गता भएकाहरूले पनि योगदान दिन सक्ने उहाँको भनाइ छ । देश गरिब भए पनि आफ्नो नागरिकलाई सक्दो हेरचाह गर्न कुनै कमी नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । 

अन्तिम अपडेट: माघ १५, २०७७

तपाईको प्रतिक्रिया