बाँके र कपिलवस्तुमा २५० मेगावाटको सौर्य ऊर्जा परियोजना बनाउन समझदारीपत्रमा हस्ताक्षर

 माघ १३, २०७७ मंगलबार १७:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लाण्टसहितको दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । ​

ग्रिडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिङ्गापुर जेभीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा एक सय २५ मेगावाटका दरले दुई सय ५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेज प्लाण्ट स्थापनाका लागि अध्ययन गरिने छ ।

परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्डको कार्यालयमा सम्पन्न समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ क्वियाङले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर बुझाउनुपर्नेछ । २०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया