राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार : नेत्र विज्ञानसम्बन्धी प्राज्ञिक, अनुसन्धानका लागि सम्झौता

 माघ १४, २०७७ बुधबार ८:५६:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान  र नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जबीच प्राज्ञिक, अनुसन्धान र आँखा स्वास्थ्य सेवाको विकास र विस्तारको लागि सम्झौता भएको छ । 

प्रतिष्ठान र संघबीच दुवै संस्थाकाे आपसी सहयोग र सहकार्यको माध्यमबाट क्लिनिकल एक्सपोजर, पोष्ट ग्राजुयट, अन्डर ग्राजुयट फेलोसिप कार्यक्रम र नेत्र विज्ञानको अध्ययनको कार्यक्रमलाई संयुक्त रुपमा सञ्चालन गर्ने उद्देश्यले सम्झौता गरिएको हो । 

प्रतिष्ठानमा भएको कार्यक्रममा प्रतिष्ठानको तर्फबाट उपकुलपति प्रा.डा. संगीता भण्डारी र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतका राप्ती आँखा अस्पताल, छन्द कालोबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्रविज्ञान विभाग डिपार्टमेन्ट अफ अफ्थाल्मोलोजीको रुपमा विकास गरिने सम्झौता पत्रमा उल्लेख छ ।

यस्तै शल्यक्रिया सेवा तथा अन्य विशिष्टीकृत सेवाका लागी आँखा स्वास्थ्य कार्यक्रम र प्रतिष्ठानको शल्यक्रिया केन्द्रको रुपमा मान्यता दिने र मोतिविन्दु लगाएत आँखाका अन्य विशिष्टिकृत सेवाहरुका लागि कार्यक्रम अन्तर्गतको अस्पतालमा रिफर गर्ने सम्झौतमा उल्लेख गरिएको छ । त्यस्तै प्रतिष्ठानले कार्यक्रम अन्तर्गतका आँखा अस्पतालहरुलाई शैक्षिक अध्ययन संस्था बनाउनका लागि पूर्ण सहयोग गर्ने र त्यसका लागि मेडिकल काउन्सिलको मापदण्ड बमोजिम फेकल्टी मेम्बर प्रतिष्ठानको रहने र कार्यक्रमले अस्पतालहरुको मापदण्ड पूरा गर्नुपर्ने छ ।

दुवै पक्षबीच भएको सम्झौतामा घोराही उपमहानगरपालिका तथा स्थानीय स्तरबाट माग भइआएमा आँखा स्वास्थ्य कार्यक्रमले घोराही उपमहानगरपालिका क्षेत्र भित्र शल्यक्रिया सहितको सिटि क्लिनि सञ्चालन गर्न सक्ने उल्लेख छ ।

प्राज्ञिक, अनुसन्धान र आँखा स्वास्थ्य सेवाको विकास र विस्तारको लागि गरिएको सम्झौता तीन वर्षका लागि कायम रहने र आवश्यकता अनुसार दुवै पक्षको आपसी समझदारीमा नवीकरण गर्न सकिने नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया