कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने

 माघ १८, २०७७ आइतबार १७:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने समयावधि थप गरिएको छ । 

कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको हो ।

कानूनी वैधता कायम गर्न वा कुवेत छोडी स्वदेश फिर्ता जान ३१ जनवरी २०२१ सम्म समयावधि तोकेकोमा यो अवधि बढाएर फेब्रुअरी १ अर्थात भोलिदेखि शुरू हुने गरी मार्च २ सम्मका लागि थप गरिएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नयाँ कोरोना भाइरस फैलिएसँगै देखापरेको अहिलेको असाधारण अवस्थालाई मध्येनजर गर्दै एक महिनाको अवधि थप गरिएको कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लङ्घन गर्ने विदेशी नागरिकहरूले  आफ्नो कानुनी वैधता कायम गरेको नपाइएमा कारबाही हुने जनाइएको छ ।

यो अवधिभित्र पनि वैधता कायम नगरेमा कुवेत सरकारको कानुन बमोजिम जरिवाना हुने, आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गरिने मन्त्रालयको निर्णयलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया