'नेपाल र नेपालीलाई खोपको प्रयोगशाला बन्न दिन्नँ'

 माघ १९, २०७७ सोमबार १३:६:३४ | हृदयेश त्रिपाठी
unn.prixa.net

विश्वका धेरै देशमा अहिले कोरोनाविरुद्धको खोपलाई लिएर विवाद बढ्दै गएको छ । सुविधा सम्पन्न र शक्तिशाली देशमा पनि कोराेनाविरुद्धको खोप पर्याप्त पुगेको छैन । यस्तो बेला नेपालले कोरोनाविरुद्धको खोप ल्याएर लगाउन थालिसकेको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्छ । 

कोरोनाविरुद्धको खोप लगाउनेमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा आबद्ध राष्ट्रमध्ये हामी दोस्रो देश बनेका छौं । भारतपछि नेपालले कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । हाम्रो दृढ संकल्प र तयारीकै कारण यो सम्भव भएको हो । 

सुरुवातको चरणमा कोरोना विरुद्धको खोप के होला, कस्तो होला भन्ने आशंका र अन्योल थियो, तर अहिले त्यो अन्योल हटिसकेको छ । नेपालका वरिष्ठ डाक्टर तथा स्वास्थ्यकर्मीले नै कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लगाएपछि नागरिकमा खोपप्रतिको विश्वास बढ्दै गएको छ । तर खोप वितरण भइरहेकै बेला केही समूहले हल्ला फिँजाउने काम गरिरहेकाले हल्लाको पछि नलाग्न म आग्रह गर्छु  । 

नेपालमा कोरोनाविरुद्धको खोप लगाएकालाई अहिलेसम्म कुनै पनि गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । हामीले भारतबाट अनुदानमा ल्याएको १० लाख डोज खोप चार लाख ३० हजार नागरिकलाई वितरण गर्ने तयारी गरेका छौँ । 

विश्व स्वास्थ्य संगठन डब्लूएचओको मापदण्डअनुसार पहिलो चरणको खोप अभियान अन्तर्गत पहिलो खोप लगाएकालाई दोस्रो पटकको खोप पनि पहिलो चरणमा आएको खोपबाटै दिइनेछ । १० लाख डोज खोप चार लाख ३० हजार जनालाई पहिलो र दोस्रो पटक लगाउन पुग्छ । पहिलो खोप  लगाएको एक महिनापछि दोस्रो खोप लगाउने तयारी छ ।

नेपालमा दोस्रो चरणमा पनि खोप ल्याउने प्रक्रिया भइसकेको छ । चीनबाट ३ लाख डोज खोप अनुदानमा ल्याउने तयारी छ । बेलायतले पनि सहयोग गर्ने अपेक्षा छ । तर यी खोप यही मितिमा आउने भन्ने निश्चित भइसकेको छैन । 

नेपालमा अहिले परीक्षणका लागि खोप ल्याएको भन्ने हल्ला पनि छ । नागरिकलाई म के भन्छु भने - मेरो कार्यकालमा नेपाल र नेपालीलाई प्रयोगशाला बन्न दिने छैन । म नै पदमा रहिँन भने त के होला म भन्न सक्दिनँ । तर, म रहेसम्म नेपालमा प्रयोग गर्नका लागि खोप ल्याउने छैन ।

दुई देशमा खोप लगाउन थालिसकेको र न्यूनतम तीन वटा चरणसम्म परीक्षण पार भएका खोपलाई मात्रै हामी नेपालमा ल्याउँछौँ । त्यही आधारमा रहेर हामी खोप उत्पादक कम्पनी र देशसँग निरन्तर छलफलमा छौं ।

त्यसैले कोरोनाविरुद्धको खोपबारे हल्लाको पछि नलाग्न आग्रह गर्छु । खोप पूर्ण सुरक्षित र प्रभावकारी रहेकाले ढुक्क हुन मेरो आग्रह छ । तर, कतिपयलाई खोप लगाएपछि कोरोना भाइरसले सङ्क्रमण नै गर्दैन भन्ने छ । त्यसो होइन । खोपले सुरक्षा त दिन्छ, तर खोप लगाएपछि कोरोना भाइरसको सङक्रमण नै हुँदैन भन्ने होइन । 

खोप लगाएकालाई पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्य विज्ञले पनि सल्लाह दिँदै आएका छन् । म पनि त्यही सल्लाह दिन्छु । जनस्वास्थ्यका  सबै मापदण्ड सबैले पालना गरे मात्रै कोरोनालाई परास्त गर्न सकिन्छ ।

हामीले पहिलो चरणमा अनुदानमा आएको खोप अग्रपङ्क्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाईकर्मी, सुरक्षाकर्मी, शववाहन चलाउने चालकहरुलाई निःशुल्क दिइरहेका छौँ । अब, दोस्रो चरणमा आएको खोप पनि हामी निश्चित जनसंख्यालाई निःशुल्क नै वितरण गर्छौं । त्यसका लागि प्राविधिक टोलीले काम गरिरहेको छ ।  

खोप खरिदकै लागि हामीले एकद्वार प्रणालीमा रकम संकलन गर्न दाताहरुलाई आह्वान गरेका छौँ । अहिले कोषमा रकम संकलन भइरहेको छ । सबै काम पारदर्शी ढंगबाट हुनेछ ।

(स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीसँग उज्यालाे सहकर्मी दीपा तिमल्सिनाले गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन ३०, २०८०

हृदयेश त्रिपाठी

हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया