नेकपाको ओली समूहले आज काठमाण्डौमा जनसभा गर्दै

 माघ २३, २०७७ शुक्रबार ८:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाण्डाैमा जनसभा गर्दैछ ।

नेकपा ओली समूहको वाग्मती प्रदेशले गर्ने जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नारायणहिटी गेट अघिल्तिर दरबारमार्गमा दिउँसो १२ बजे जनसभा सुरु हुने नेकपाको ओली समूहका नेताहरुले बताएका छन् । त्यसअघि काठमाण्डाैका विभिन्न ठाउँबाट प्रदर्शनसहित कार्यकर्ताहरुले र्‍याली निकाल्ने तयारी भइरहेको छ । जनसभाको प्रचारका लागि भन्दै युवा संगठनले हिजो बेलुकी मार्चपास गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएलगत्तै सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको भन्दै विरोधका कार्यक्रम गरिरहेको छ भने ओली समूहले प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै विभिन्न कार्यक्रमहरु गरिरहेको छ । विरोधस्वरुप हिजो प्रचण्ड-नेपाल समूहले आमहड्ताल गरेको थियो ।

नेकपा विभाजित भए पनि निर्वाचन आयोगले भने दुवै समूहको निर्णयलाई वैधानिकता दिएको छैन । दुवै समूहका निर्णयलाई खारेज गर्ने आयोगको निर्णय लगत्तै प्रचण्ड-नेपाल समूहले आधिकारिकता दाबी पेस गरेको छ । यस्तै संसदीय सुनुवाइबिनै संवैधानिक आयोगका पदाधिकारी नियुक्त भएपछि प्रचण्ड-नेपाल समूह थप रुष्ट बनेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया