कतार : कोरोना सङ्क्रमण नियन्त्रणसम्बन्धी सुरक्षाका उपाय नअपनाए रियाल दुई लाखसम्म जरिवाना

 माघ २५, २०७७ आइतबार १५:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न त्यहाँको सरकारले थप कडाइ गरेको छ ।

गएको फेब्रुअरी ४ मा कतार सरकारको संकट व्यवस्थापन समितिले सङ्क्रमण नियन्त्रण गर्न कडाइका थप नियम लागू गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । अब कतारमा घरभित्र वा बन्द स्थानमा पाँच जना र खुल्ला स्थान जस्तै सार्वजनिक पार्क, समुन्द्री किनारमा १५ जना भन्दा बढी भेला हुन पाइने छैन । यस्तै कुनै पनि कामका लागि घरबाट बाहिर निस्किँदा चालु अवस्थामा रहेको ‘ईटेराज एप्लिकेशन’ साथमा हुनै पर्ने छ ।

निजी सवारी साधनमा पनि चालकसहित ४ जनाभन्दा बढीलाई यात्रा नगर्न त्यहाँको सरकारले सूचित गरेको छ । यस्तै घरबाट बाहिर निस्किदा मास्क अनिवार्य लगाउनै पर्ने छ । समितिले गरेको निर्णय अनुसार नियम उल्लंघन गरेको पाइएमा कतारी रियाल दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।  नियम पालना गरेर बढ्दै गरेको संक्रमणबाट बच्न त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ । 

यस्तै कतारमा कोरोना सङ्क्रमण नियन्त्रण गर्न कडाइका थप नियम लागू गरिएसँगै कतारमा रहेको नेपाली दूतावासले आफै उपस्थित भएर लिनु पर्ने सेवाबाहेक अन्य जानकारीको लागि फोन तथा इमेलमार्फत बुझ्न आग्रह गरेको छ ।

दूतावासको फोन नम्बर ४४६७५६८१,४४६७५६८३ मा सम्पर्क गरेर आवश्यक जानकारी लिन सकिन्छ । यस्तै राहदानी सेवाका लागि [email protected] , कन्सुलर सेवाका लागि [email protected] र माग प्रमाणिकरण तथा श्रम सम्बन्धी समस्या तथा जानकारीका लागि [email protected] सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया