पक्षीमा रानीखेतको सङ्क्रमण बढ्यो : देशभरबाट स्वाब सङ्कलन हुँदै, कन्ट्याक्ट ट्रेसिङमा समस्या

 माघ २७, २०७७ मंगलबार ९:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा पक्षीहरुमा देखिने रानीखेत रोगको सङ्क्रमण बढेको छ ।

अस्वाभाविक रुपमा रानीखेतको सङ्क्रमण बढिरहेकाले विशेष सावधानी अपनाउन पशुसेवा विभागले आग्रह गरेको छ ।

हरेक दिन काठमाण्डाैका २० देखि २५ ठाउँका ५ सयदेखि ६ सयवटा फार्मबाट आएका स्वाबहरु परीक्षण गर्दा रानीखेत पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले बताउनुभयो । उहाँकाअनुसार काठमाण्डाैसहित देशका विभिन्न ठाउँबाट संकलन भएका स्वाब परीक्षण गर्दा रानीखेतको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण फैलनुमा भ्याक्सिन फेल भएर अथवा अरु के कारण हो त्यसबारे विज्ञहरुको समूहले अध्ययन गरिरहेको प्रवक्ता ढकालको भनाइ छ । यस्तै सङ्क्रमण धेरै फैलिएको ठाउँ र कारण पत्ता लगाउन गरिने कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या भइरहेको छ ।

कन्ट्याक्ट ट्रेसिङका लागि आवश्यक जनशक्ति नहुँदा कुन ठाउँमा कसरी सङ्क्रमण फैलिरहेको छ भनेर पत्ता लगाउन गाह्रो भइरहेको विभागका प्रवक्ता ढकालले बताउनुभयो । रानीखेत रोग लाग्न नदिन किसानहरुले भ्याक्सिन लगाउने गरेका छन् ।

जर्मनी, फ्रान्स, क्यानडा, भारतलगायत देशबाट ल्याइएको खोप नेपालमा प्रयाग हुँदै आएको छ । हरेक वर्ष एक करोड डोजको हाराहारीमा मात्रै नेपालमा खोप उत्पादन हुने र धेरैजसो विदेशबाटै ल्याउनुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।

यस्तै रानीखेत रोगको सङ्क्रमण बढिरहँदा बर्ड फ्लूको सङ्क्रमणका केसहरु भने नआएको प्रवक्ता ढकालले बताउनुभयो । यस्तै नेपालमा कन्ट्याक्ट ट्रेसिङको संयन्त्र कमजोर भएकोले सोचेअनुसार कुन ठाउँमा सङ्क्रमण कसरी फैलिरहेको छ भनेर पत्ता लगाउन समस्या भइरहेको छ ।

कन्ट्याक्ट ट्रेसिङमार्फत सङ्क्रमणको अवस्था पत्ता लगाउन सकिन्छ । जसले रोकथाममा सहयोग गर्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया