उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि पनि अनुसन्धान सुरु

 फागुन १२, २०७७ बुधबार २०:१५:० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले विभागीय अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्य टोली बनाएर प्रहरीमाथि अनुसन्धान सुरु भएको हो । 

बुधवार जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा १५ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको जानकारी दिइएको हो । प्रहरीको अनुसन्धानमा नै प्रभावित पार्ने तथा शान्ति सुरक्षामा नै असर गर्ने गरी सामाजिक सञ्जालमा गलत प्रचार भएको पनि प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको बताउनुभयो । भिसेरा रिपोर्ट आउन ढिला भएको तथा पक्राउ गरिएको २५ दिन पुगिसकेको अवस्थामा मात्र पक्राउ परेका व्यक्तिहरुलाई हाजिर हुने गरी छाडिएको पनि उहाँले जानकारी दिनुभयो । एसपी खड्काले प्रहरीले गरेको अनुसन्धानका क्रममा धेरै फोटामध्ये एउटा फोटो भुलवश परेको हुन सक्ने सन्दर्भमा डीएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरिसकिएकाले प्रतिवेदनको आधारमा अघि बढ्ने बताउनुभयो ।

‘मिसिलमा भएको विवरणमा मृतकको परिचय लुकाउने काम कहीँ–कतै भएको छैन’, उहाँले भन्नुभयो, ‘दायरी दर्खास्तमा, व्यक्तिगत विवरणमा, बयानमा, मुचुल्कामा, बयान, फरेन्सी रिपोर्टलगायतमा मृतकको पहिचान स्पष्ट रहेको छ।’

मृतकको सन्दर्भमा  प्रहरीले गरेको अनुसन्धानमा कुनै कमजोरी नभएको उहाँले बताउनुभयो । एसपी खड्काले प्रहरीले कुनै पनि कागजात हटाउने, बङ्ग्याउने अवस्था नरहनेसमेत जानकारी दिनुभयो । सबै मिसिलसहित सरकारी वकिल कार्यालय तथा अदालतको त्यसमा सहीछाप हुने भएकोले कुनै पनि घटनामा प्रहरीले दुराशय राखेर काम नगर्ने र यो घटनामा पनि कुनै दुराशय नराखेको एसपी खड्काले बताउनुभयो । 

प्रहरीले मृत्यु प्रकरणमा कर्तव्य ज्यानको मामिलामा सुरुदेखि नै अनुसन्धान गर्दै आएकाले अहिले पनि अनुसन्धान भइरहेको र हत्यामा संलग्न रहेको भए व्यक्ति कानुनी दायरामा आउने उहाँले बताउनुभयो । प्रहरीका अनुसार धेरै फोटामध्ये एउटा फोटो फरक पर्न गए पनि मृतकको परिचय मर्न नदिइएको, रिपोर्ट आउन समय लागेको र २५ दिन समय गुज्रिएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेकाले मृतकका परिवारले शङ्का गर्ने अवस्था नभएको एसपी खड्काले बताउनुभयो । घटना बढ्दै जाँदा प्रहरीले दुई जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा चलाउने तयारी गरेको छ ।

अनुसन्धानमा कर्तव्य ज्यान मुद्दामा केही तथ्य फेला परेकाले त्यसका आधारमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  मृतकलाई अस्पतालमा छाडेर हिँडेको, मृतकको फोनबाट ब्यालेन्स ट्रान्सफर गरेको, सामान्य वादविवाद भएको र पोस्टमार्टममा पनि त्यो कुरा उल्लेख भएकाले त्यसैको आधारमा प्रहरीले अनुसन्धान जारी राखेको एसपी खड्काले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया