ताप्लेजुङमा आगलागीको ८० वर्षको इतिहास, प्रत्येक वर्ष किन लाग्छ आगो ?

 फागुन १९, २०७७ बुधबार ८:२५:२९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ -  ताप्लेजुङको दोभान बजारमा मङ्गलवार बिहान भीषण आगलागी भयाे । 

आगलागीबाट मेरिङ्देन गाउँपालिका-३ खाम्लुङको दोभान बजारका ४९ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । 

दोभान बजारमा रहेका ३३ घरधनीका ४९ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । आगलागीका कारण ४९ घरमा डेरा गरी बस्ने २२ परिवार पनि विस्थापित बनेका छन् । 

आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकामा रहेकाे वारुणयन्त्र (दमकल), एस्काभेटरलगायतकाे प्रयोग गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयसहितको सहभागितामा आगो नियन्त्रणमा आएकाे प्रनाउ राणाले बताउनुभयो । 

तत्काललाई आगाे नियन्त्रणमा आए पनि पुनः फैलनसक्ने अवस्था रहेकाले आगाे निभाउन जनशक्ति खटिरहेका निमित्त प्रमुख जिल्ला अधिकारी गायत्री अधिकारी खड्काले जानकारी दिनुभयो । आगो दोभान बजार नजिक खाम्लुङको साक्फारा भीर क्षेत्रमा पनि प्रवेश गरेकाले थप क्षतिको सम्भावना रहेकाे प्रहरीले जनाएको छ । बजारका बाँकी रहेका घर तथा पसलसम्म फैलिन नदिने गरी आगो निभाउने कार्य भइरहेको र जङ्गल क्षेत्रमा पसेको आगो भने नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएकाे छ ।

वर्षेनि आगलागीका घटना भइरहे पनि स्थानीय सरकारसँग आगो नियन्त्रणका लागि वास्तविक योजना नै छैन । ताप्लेजुङका स्थानीय सरकारसँग आगलागीसम्बन्धी वास्तविक योजना नभएका कारण आगो तत्काल नियन्त्रणमा नआउँदा धेरै क्षति हुने गरको छ । वर्षैपिच्छे आगलागीमा परेर सयौँ परिवार घरबारविहीन बनेका छन् भने करोडौं बराबरको क्षति ब्यहाेर्नु परिरहेको छ ।

विशेषत तमाेर नदी र मुख्य सदरमुकाम भएको फुङलिङ बजारमा वर्षेनि आगलागी हुने गरेको छ । तर, आगलागी भएकाे ठाउँमा समयमै वारुण यन्त्र नपुग्दा ठूलो क्षति भइरहेका छन् । आगो निभाउन आवश्यक पूर्वाधार तथा याेजना नभएकै कारण मङ्गलवार तमोर नदी र मैवाखोलाको बीचमा रहेकाे दोभान बजारमा लागेकाे आगाे समयमै नियन्त्रणमा आउन सकेन । 

फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल अव्यवस्थित बजार र लापरबाहीका कारण आगलागी हुने गरेको बताउनु हुन्छ । तर, नगर प्रमुख तथा स्थानीय प्रतिनिधिको फितलो प्रशासनका कारण पनि आगलागीबाट धेरै क्षति हुने गरेको छ । 

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङबाङ(लिम्बु) ले गाउँ पालिकामा दैवीप्रकोप योजना भए पनि छुट्टै आगलागीसम्बन्धी कुनै उद्धारको योजना नभएको बताउनुभयो । आउँदाे दिनमा भने योजना बनाउने अध्यक्ष चोङबाङकाे भनाइ छ । 

आगलागीको ८० वर्षको इतिहास 

ताप्लेजुङमा आगलागीको झण्डै ८० वर्षको इतिहास रहेकाे छ । 

९५ वर्षीया तुलसी दाहालकाअनुसार १९९४, १९९५ र २००६ सालमा अहिलेकाे वीरेन्द्रचोक क्षेत्रमा आगलागी भएको थियो । त्यतिबेला थुप्रै घर जलेका उहाँले स्मरण गर्नुहुन्छ । यस्तै २०१३ सालमा पनि आगलागीबाट ७ वटा घर जलेका थिए। 

२०१८ सालमा कांग्रेसले जिल्ला अदालत ताप्लेजुङ तथा न्यून संख्यामा रहेका सरकारी कार्यालयमा आगजनी गरी कारागारसमेत तोडेर कैदीबन्दीलाई भगाएकाे बताइन्छ । 

यस्तै २०३५ साल जेठमा अहिलेको शान्तिटोल जोरधारा जिमीपोखरी गणेशथान हुँदै भानु तथा दोभान जाने बाटोको चोक माथिल्लोपट्टि लागेकाे आगाेबाट ४ चार घर जलेर नष्ट भएका थिए । 

२०६० चैत्र १५ गते साँझमा वीरेन्द्रचोक क्षेत्रमा आगलागी हुँदा ४५ घर जलेर नष्ट भएका थिए । आगलागीबाट १२९ परिवार विस्थापित भएका थिए । आगलागीबाट तत्कालीन मूल्यअनुसार ५५ करोड ५४ लाख ६४ हजार १ सय ४८ रुपैयाँ बराबरको क्षति भएको थियो । 

२०६९ साल माघ २६ गते शेर्पाटोलमा आगलागी हुँदा ८ घर जलेर नष्ट भएका थिए भने ती घरमा बस्ने १८ परिवार विस्थापित भएका थिए । 

२०७० साल कात्तिक १८ गते टुक्रेबजार क्षेत्रमा आगलागी हुँदा ५ घर जलेर नष्ट भए थिए भने अग्नि नियन्त्रणका लागि भत्काइएका घरसमेत गरेर १७ परिवार विस्थापित भएका थिए ।

२०७१ साल चैत ९ गते बेलुकी फुङलिङ ४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए भने ७ घर अग्नि नियन्त्रणका लागि भत्काइएका थिए । याेसहित गरेर ४४ घर नष्ट हुँदा १४५ परिवार विस्थापित भएका थिए ।

२०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागी हुँदा ७ घर जलेका थिए । साथै १ घर अग्नि नियन्त्रणका लागि भत्काइएको समेत गरी ८ घर पूर्णरुपमा क्षति पुग्दा २९ परिवार विस्थापित भएका थिए । आगलागीबाट ७ करोड ६५ लाख ७२ हजार ७ सय बराबरको क्षति भएको तथ्याङ्क रहेकाे छ ।

ताप्लेजुङमा सामूहिक र ठूलो क्षतिबाहेक प्रत्येक वर्ष हुने छिटपुट घटनाकाे ५ वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष ५० घरको हाराहारीमा आगलागी हुने गरेको देखिन्छ ।

२०६१ साल ६१ घर, २०६२ साल ५१ घर, २०६३ साल ३९ घर, २०६४ साल ४८ घर २०६५ साल ४६ घर गरी अहिलेसम्म २४५ घरमा आगलागी भएको देखिन्छ । यी घटनामा प्रतिघर औसत ८ लाख रुपैयाँ क्षति हुँदा  प्रत्येक वर्ष ४ करोड हाराहारीमा नाेक्सानी हुने गरेकाे तथ्याङ्कले देखाएकाे छ। । 

प्रत्येक वर्ष किन हुन्छ आगलागी ?

ताप्लेजुङमा प्रत्येक वर्ष हुने आगलागीबारे अध्ययन तथा निराकरणका लागि आवश्यक योजना बन्नुपर्ने कुरा बारम्बार उठे पनि घटनामा न्यूनता आउन सकिरहेको छैन ।

बजारवासी र समाजसेवी यस विषयमा आ-आफ्ना धारणा राख्ने गर्छन् । तर, ती धारणा विचारमा मात्र सीमित हुने गरेका छन् । 

आगलागी हुनुका केही मुख्य कारण यस्ता छन् । 

  •  आगोलाई सामान्य सम्झेर लापरबाही गर्नु ।
  •   होटल सञ्चालन गर्दा होटलमा प्रयोग भएका ग्यास र दाउरा बाल्दा लापरबाही गर्नु ।
  •  खाना, चिया, पेयपदार्थ वा अन्य खानेकुरा बसालेर आगो (ग्यास, दाउरा) बालेर अन्य काममा लाग्नु त्यताको वा पहिलेको काम बिर्सनु ।
  •  आगोको काम सकेपछि तत्काल राम्ररी आगो ननिभाउनु ।
  •  छिटो आगोले टिप्ने कुरा चुलो छेउमा राख्नु ।
  • चुलोमा दाउरा सेकाउन राख्नु ।
  •  ग्यासको रेगुलेटर बारम्बार चेक नगर्नु र पुरानो रेगुलेटर चलाइराख्नु ।
  •  गाउँघरमा वस्तुभाउलाई खोले कुँडो पकाउँदा लापरबाही गर्नु र ननिभाउनु ।
  • खरानी फाल्दा आगो टिप्ने ठाउँ, बाख्राको खोरभित्र गोबर भएको ठाउँमा फाल्नु ।

यहाँका घरहरु काठ र टिन प्रयोग गरी बनाइएको हुँदा छिटै आगो फैलने र नियन्त्रणबाहिर गएर आगाेले बृहत् रुप लिने गरेको देखिन्छ ।

ताप्लेजुङमा यस्ता लापरबाहीलाई हटाउन सकेमात्र पनि आगलागीका घटना धेरै कम हुने बताइन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया