आफ्ना नागरिकलाई परदेशी नबनाइदेउ सरकार

 फागुन १९, २०७७ बुधबार १३:४१:३५ | मेरो कथा मेरो भोगाई

अनिल गिरी,बारा सिमरा/हाल जापान ।

चर्को आवाजमा मोबाइलको 'अर्लाम' बजेसँगै हरेक दिनजस्तै यताउता छामछुम गरेपछि मोबाइल भेटेँ ।

आँखा खुल्नासाथ जुरुक्क उठ्न अप्ठेरो लाग्छ । मोबाइलमा फेसबुक खोलेँ ।

मलेसियाबाट एकै पटक १८ जना नेपाली युवाको शव नेपाल लगिएको दुःखद खबरमा आँखा पर्‍यो । 

खबरले मनमा अनेक विचारहरू खेल्न थाले । त्यसैले जापानबाट केही मनका कुरा लेख्दैछु । राजनीति भनेकै आफ्नो र आफ्नाको लागि गरिने रहेछ । नागरिक जाबो मरे पनि के, बाँचे पनि के । 

भन्नलाई सादा जीवन उच्च विचार भन्नुहुन्छ नेता ज्यू । तर जुन आशा नागरिकले तपाईँहरूसँग गर्छन् त्यो आशामा निराशाको बीजारोपण नेता नेताज्यूहरूले नै गर्नुहुन्छ । 

 देशमा कोही रोगले कोही भोकले त कोही चिसोमा एकसरो न्यानो लुगाको अभावमा ज्यान गुमाइरहेका छन् । 

रोजगारी छैन । आफ्नाको पहुँच नभई त यहाँ केही पनि हुँदैन । त्यसैले पनि काम खोज्दै युवाहरू खाडी र मलेसिया पुग्छन् । र त खाडी र मलेसियामा ज्यान गुमाइरहेका छन् । 

कलिला रहरले सहर खोज्दै छन् । देशभन्दा परदेश प्यारो मान्दै छन् युवाहरू । अचेल कहिले विद्यालय तह पढाइ सकिएला र विदेश जान पाइएला भन्ने धेरैको मुखबाट सुन्न पाइन्छ । उनीहरूलाई देशको अवस्था, संघर्ष र समस्यासँग सरोकार छैन । मात्र देशको घिनलाग्दो राजनीतिबाट टाढा हुनु छ । 

एक पटक आफैं सोचेँ । म देशमा भएको भए बेरोजगार हुन्थेँ होला, रोजगारी खोज्ने बहानामा ठगीमा पर्थेंहुँला । तर आज अर्काको देशमा भए पनि स्वतन्त्र नेपाली भएर हिँड्न पाएको छु  ।

घरी घरी त आफ्नो श्रम पसिना आफ्नै देशमा बेच्न नपाएकोमा आफूसँग र आफ्नो देशसँग रिस उठ्छ । त्यो बेला चाहिँ मलाई विदेशको बालुवा नै सही तर राम्रो लाग्छ । किनकि यो ठाउँले मेरो श्रम र पसिनाको मूल्य दिएको छ । 

भन्नलाई त नेताहरू युवालाई देशमा आउँ देशमै केही गर भन्छन् । तर देश मै केही गर्न सकेको भए आफ्ना र आफन्तको काख र साथ छाडेर यो बिरानो देशमा को पो आउँथ्यो होला र ?

केही गर्ने वातावरण मिलेको भए, केही गर्छु भनेर खुट्टा अघि सार्नेलाई सरकारले सहयोग गरेको भए आज अर्काको देशमा रगत र पसिना बेच्न पर्ने नै थिएन नि ।

रहरले सहर खोज्नु र कहरले आफ्ना भन्ने सबै छोडेर पराइको देशमा आउनु धेरै फरक कुरा हो । ठुलो सपना बुन्दै यो सानो हत्केलामा मेहनत गरेर भाग्य रच्न र निधारमा राहदानी भन्दा पनि ठुलो परदेशीको छाप हानेर मुगलान छिरेको हुँ । केही समय, केही वर्ष र केही दशकको लागि सधैको लागि भन्ने चाहिँ होइन । 

परदेशमै नेपाली राहदानी त्यागेर बसेका थुप्रै हर्के दाइहरू देख्न पाइन्छ । विदेशी ब्रान्ड लगाएर मात्र नपुगेर विदेशी बन्न र भन्न खुसी हुने धेरै छन् । माख्ला घरे दिदीले परदेशमै बिहे गर्नु भएछ विदेशीसँगै । कारण ढिकी जाँतो, मेला पाखा गर्न मन छैन रे अब ।

प्रश्न धेरैलाई गरेँ, कारण फरक फरक पाएँ । कोही रहरले त कोहीले कहरले परदेश बसेको पाएँ ।

 कोही भने ‘मैले त दुःख पाएँ, मेरो सन्तानले त्यो दुःख देख्न नपरोस्, त्यो आफ्नै देश भएर के गर्नु आफ्नहरुसँगै डराएर हिँड्नुपर्ने अवस्था छ’ पनि भने ।

नेताहरू जस्तो सुकै उपचार गर्न सक्छन् , छिसिक्क केही भए विदेश पुग्छन्, तर हामी आफ्नै देशमा उपचार नपाएर मर्नुपर्ने अवस्था छ । आफूभन्दा ठुलो सन्तानको खुसी हो । सन्तानकै खुसीका लागि भने पनि यस्तो निर्णय गर्न परेको भन्ने तर्क पनि पाएँ ।

यसो भनिरहँदा मन चिसो हुन्छ । त्यो घरको र त्यो गाउँ बेसीको यादले सताउँछ । देशको माया कति लाग्छ । त्यो त एक परदेशीलाई सोधेँ पुग्छ । अचेल माया भनेको बुझ्दै छु , घर परिवार र देशको माया भनेको के हो भनेर ।

विपनामा त के, सपनामा पनि आफ्नो देश गएको देख्दा मनमा उमंग छाउँछ ।

पहिला पहिला पल्ला घरे दाइले देशको बारेमा लेखेको देख्दा किन यस्तो लेखिरहेको होला भन्ने सोच्थेँ । विदेशमा त्यस्तो मोज मस्ती रमाइलो ठाउँमा भएर पनि कति देश सम्झेको जस्तो लाग्थ्यो ।

 त्यो धुवाँ धुलो नै किन नहोस्, आफ्नो देशको भनेपछि हर चिज प्यारो लाग्दो रहेछ । 

हुर्केको, खेलेको ठाउँ र साथीहरूले सदैव बोलाइरहेको आभास हुँदो रहेछ ।

हिजो पैसा थिएन, धेरै साथी र समय थियो । तर अहिले मसँग पैसा छ, तर ती साथी छैनन् । समय छैन । छ त केबल ती बितेका पलहरू यादमा ।

पहिला पहिला पल्ला घरे दाइले देशको बारेमा लेखेको देख्दा किन यस्तो लेखिरहेको होला भन्ने सोच्थेँ । विदेशमा त्यस्तो मोज मस्ती रमाइलो ठाउँमा भएर पनि कति देश सम्झेको जस्तो लाग्थ्यो ।

अहिले बुझ्दै छु दाइले त्यतिखेर लेखेको मर्म र भाव अहिले आफैं लेख्न विवश हुँदा । नेतालाई गाली गर्दै छु र भन्दै छु ठिकै छ सरकार तिमीलाई हाम्रो रेमिट्यान्सले पुगेन भने ती परदेशीको आँखाको आँसु र फर्केर आएको लासको बाकसबाट पनि कर असुल । तर परदेशमा दुःख गरौँला तर आउने दिनमा कोही नेपाली परदेशी हुने दिन नआओस् । हर नेपालीले आफ्नै परिवारसँगै देशमा बसेर केही गर्ने वातावरण बनोस् । नेपाली श्रमजीवीले आफ्नै देशमा श्रमको उचित मूल्याङ्कन भएको हेर्न पाइयोस् । 

मेरो बुवा १५ वर्ष बिदेसिन पर्‍यो हाम्रो लागि । म आफैं पनि परदेशी हुन पर्‍यो । अहिले पनि परदेशमै दुःख सुख गरिरहेको छु । 

अब मेरो या हामी सबै नेपालीको भावी सन्ततिले आउने दिनमा यो नियतिलाई पछ्याउनु नपरोस् ।

देश चिन्न विदेश आउन पर्ने रहेछ । समय होस या माया एक एक चिन्न सिकाउँदो रहेछ यो परदेशी भूमिले । 

परदेश आएपछि धेरै कुराहरू नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएको छु । प्राकृतिक श्रोत हेर्ने हो भने हाम्रो देश धेरै सुन्दर र अनुपम छ । तर पनि हाम्रो देशमा सोचेको जति विकास छैन । यसको एउटा र प्रमुख कारण भनेकै राजनीतिको नाममा भएको अराजनीति र अस्थिरता हो ।

 पर्यटक आकर्षण गर्न सही प्रचार प्रसार, सुविधा र सुरक्षा दिन नसक्नु । देशको जनशक्ति विदेशमा पलायन हुनु । अरू देशले कृत्रिम बस्तु देखाएर नै पर्यटक भित्र्याइरहेका छन् । मरुभूमिको बालुवा होस् या समुद्रमा सहर या होटेल बनाएर होस् , विश्वको ध्यान तान्न अनेक उपाय अपनाएर देश समृद्ध बनाइरहेका छन् ।

पहिलाभन्दा धेरै कुराहरूमा देखियो परिवर्तन । युवा शक्तिको चासो र देशमै केही गरौँ भन्ने आत्मबलले म लगायत धेरै परदेशमा हुने नेपालीहरूलाई पनि आफ्नै देशमा चाँडै गएर केही गरौँ भन्ने आभास हुन्छ । 

हाम्रो रगत र राष्ट्रियतालाई कसरी बुझौँ म, जुन एकै छिन तात्छ अनि एकैछिनमा सेलाउँछ । धेरै कुरा भाषणमा मात्र सीमित देख्छु । हाम्रो देशको ती उर्वर भूमिले युवा जनशक्ति, युवाका पौरखी हातहरूलाई पर्खिँदै छ, आउँ युवा आफ्नै देशमा केही गर भनेर । 

अनि, चाडै नयाँ सोच, प्रविधि, आर्थिक योजना, दीर्घकालिन विचार लिएर आफ्नै देशमा केही गर्न चाडै फर्किन सकौँ हामी परदेशीहरू पनि । 

हाम्रा यी पौरखी हात पाखुरा आफ्नै देशमा खियाउन पाइयोस् ।

पहिलाभन्दा धेरै कुराहरूमा देखियो परिवर्तन । युवा शक्तिको चासो र देशमै केही गरौँ भन्ने आत्मबलले म लगायत धेरै परदेशमा हुने नेपालीहरूलाई पनि आफ्नै देशमा चाँडै गएर केही गरौँ भन्ने आभास हुन्छ । 

केही सीप सिकौँ, बुझौँ र बुझाऊँ, तर परदेशलाई घर देश नबनाऊ । आफ्नो संस्कृति राष्ट्रियतालाई सधैँ माया गरौँ । राम्रो होस् या नराम्रो , नराम्रो छ भने मिलेर सुन्दर बनाऊँ हाम्रो देशलाई । आउँ हातेमालो गरौँ, देश बनाउन ।

अन्तिम अपडेट: चैत २७, २०७७

तपाईको प्रतिक्रिया