व्यावसायिक कृषि गर्नेहरुलाई  बिना धितो सुलभ ब्याजदरमा ऋण दिँदै सन्धिखर्क नगरपालिका

 फागुन १९, २०७७ बुधबार १३:४३:२२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई  बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ ।

विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवाहरु तथा अन्य युवाहरुलाई व्यावसायिक कृषि पेशामा आबद्ध गराइ समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि  कर्जा कार्यक्रम सञ्चालन गरेको नगर  प्रमुख कमलप्रसाद भुसालले बताउनु भयो ।  

व्यावसायिक कृषि गर्नेहरुलाई सुलभ कृषि  कर्जा प्रदान गर्न सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज (बुधबार) हस्ताक्षर भएको छ । हस्ताक्षर  समारोहमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले हस्ताक्षर गर्नु भएको हो  । 

कृषि पेशा गर्नेहरुलाई बिना धितो कर्जा प्रवाह गरिने जसमा  कुनै प्रक्रिया शुल्क नलाग्ने, ब्याजदर पनि २ देखि ३ प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले बताउनुभयो । सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले अन्य सेवाहरु इन्टरनेट बैंकिंग, एटीएम सेवा, इबीबीएस लगायतका सेवाहरु समेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ । 

यसको लागि सन्धिखर्क नगरपालिकाको ७५ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडको ७५ लाख गरी एक करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । कृषि पेशा गर्ने युवाहरुलाई एक लाख देखि ३ लाख रुपैयाँसम्म सुलभ कर्जा प्रदान गरिने नगर प्रमुख भुसालले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया