सामीद्वारा मकवानपुरमा ११ सय ६७ जनालाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श

 फागुन १९, २०७७ बुधबार १४:१८:३६
unn.prixa.net

मकवानपुर – सुरक्षित आप्रवासन परियोजना सामी मकवानपुरले चालु आर्थिक वर्षको ६  महिनामा ११ सय ६७ जनालाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पासपोर्ट बनाउन आउने २ हजार १५९ जना मध्ये ११ सय ६७ जनालाई आप्रवासी स्रोत केन्द्र एमआरसी मकवानपुरले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गरेको हो ।

यस्तै सामी परियोजना अन्तर्गत वैदेशिक रोजगारीमा गएर फर्किएका रिटर्नी स्वयमसेवकमार्फत जिल्लामा १२९ घरधुरीका २ हजार ५९ जनालाई व्यक्तिगत भेटघाट गरेर पनि सुरक्षित वैदेशिक रोजगारीका बारेमा जानकारी दिइएको छ । 

मकवानपुरका विभिन्न पालिकामा सञ्चालित परियोजनालाई पालिकाले साथ दिएका छन् ।  हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्थानीय सरकारले परियोजना अन्तर्गतका कार्यक्रमलाई आवश्यकताको आधारमा निरन्तरता दिने बताउनुभएको छ । 

यस्तै परियोजना सञ्चालित सबै पालिकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताएका छन् । एकीकृत ग्रामीण विकास सेवा मकवानपुरद्वारा सञ्चालित सामी परियोजना मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र बकैया गाउँपालिकामा सञ्चालित छ । 

नेपाल सरकार र स्विस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास् नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी ३९ जिल्लाका १५६ पालिकामा सञ्चालित छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया