‘राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा शून्य सहनशीलताका साथ काम गर्नेछाैं’

 फागुन १९, २०७७ बुधबार १६:५६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शुन्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

आयोगले बुधबार भद्रकालिमा रहेकाे आफ्नै कार्यालयमा १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्धालाई सम्बोधन  गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले संवैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदीय भूमिका बिना भेदभाव निर्वाह गर्नुपर्ने भन्दै उहाँले राजनीतिक पूर्वाग्रह बिना महिला हिंसाका घटनाको अध्ययन अनुसन्धान र दोषीलाई कारबाहीको सिफारिस गरिने बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरुले महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण हुने गरेको र राजनीतिकै आडमा घटनामा संलग्नहरुमाथि कारबाही हुन नसकेको भन्दै आयोगको भूमिकामा पनि प्रश्न उठाएपछि अध्यक्ष पराजुलीले राजनीतिक अनुभूति हुने किसिमको काम आफूबाट नहुने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले त्यस्तो भएको अनुभूति भए आयोगलाई खबरदारी गर्न पनि सुझाउनुभयो ।

उहाँले भन्नुभयो, “यो ठाउँमा रहँदासम्म मबाट कुनै पनि राजनैतिक रंग, प्रभाव र अनुभूति हुने खालको कुनै पनि काम हुनेछैन । यदि कहीँ त्यस्तो अनुभूति भए खबरदारी गर्न सक्नुहुन्छ ।' उहाँले भन्नुभयाे 'म यहाँहरुसँग यो प्रतिवद्धता व्यक्त गर्दछु । महिला हिंसाका कुनै पनि विषयमा हाम्रो शून्य सहनशीलता हुनेछ र त्यस्ता घटनाहरुलाई छानविन गर्ने, अनुसन्धान गर्ने, कारबाहीको सिफारिस गर्ने र कारबाही गराउने क्रममा जो कोही भए पनि त्यहाँ राजनैतिक आग्रह पूर्वाग्रहको आधारमा कुनै पनि छुट र सम्झौता हुनेछैन ।'

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया