मेरो तीन वर्षे वित्तीय लक्ष्य

 फागुन १९, २०७७ बुधबार १७:३:३८ | उज्यालो सहकर्मी

काठमाण्डौ –  आम्दानी गर्ने बाटो पहिल्याएपछि परदेशीका श्रीमती पनि आत्मनिर्भर हुन थालेका छन् । वित्तीय साक्षरता कक्षामा बसेपछि ऋणमा डुबेका श्रीमानलाई ऋण तिर्न सघाउने, आफैं कमाएर घर खर्च धान्नेदेखि श्रीमानलाई स्वदेश बोलाउने आँट समेत बटुलेका छन् ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन सामीले ३९ जिल्लाका १५६ पालिकामा विप्रेषण प्राप्त गर्ने  परिवारका सदस्यका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिरहेको छ । यो कक्षामा बसेपछि कैलालीको घोडाघोडीकी दुर्गा अधिकारीले बनाएको वित्तीय योजना उहाँकै शब्दमा :

***

खुसी के हो ? खुसी के गर्दा कसरी मिल्छ होला ? मानिस कहाँ कहाँ मात्र भौतारिदैनन् । तर खुसी त हाम्रै वरिपरि रहेछ । मनदेखि कुनै पनि कुरा गर्ने हो भने सफलता त्यसमै मिल्दो रहेछ अनि खुसी पनि । जुन कुराको अनुभव म अहिले गर्दै छु । 

उमेरले म अहिले ३० वर्षकी भएँ । मेरो श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा हुनुहुन्छ । श्रीमान् परदेश लागेपछि मैले १० कट्ठा जग्गा अधियामा लिएर कृषि कर्म गर्दै आफ्नो घर चलाइरहेको थिएँ । डेढ वर्ष भयो उहाँ रोजगारीका लागि साउदी जानुभएको छ । अहिले घरमा मसहित एक छोरा र दुई छोरी छौँ । 

२०७७ साल कार्त्तिक १६ गते देखि मेरो गाउँमा हामीजस्ता परदेशीका परिवारका लागि एउटा कक्षा सुरु भयो । सुरक्षित आप्रवासन परियोजना सामीमार्फत सञ्चालन भइरहेको यो कक्षामा हामीलाई विभिन्न कुराहरू सिकाइँदो रहेछ । 

हाम्रो आम्दानी के हो, मैले गरिरहेको खर्च ठिक छ कि छैन, आम्दानीका बाटोहरू के हुन सक्छन् भन्ने कुरा मैले पनि यही कक्षामा बस्न थालेपछि जानेँ । यो कक्षामा बसेपछि मलाई आम्दानीको बाटोहरू घरमै पनि रहेछन् भन्ने कुरा थाहा भयो । 

थाहा पाएपछि म चुप लागेर बसिनँ । गाउँमा दर्ता भएको समूहबाट ९० हजार रुपैयाँ ऋण लिएँ । दुई वटा बाख्रा र एउटा भैँसी किनेँ ।

यहाँ आफ्नो लागि गर्ने भनेको आफैंले रहेछ । अरूले त कहाँ तल पार्न पाइन्छ भनेर बाटो हेरेर बसेका हुन्छन् । मेरो श्रीमान् विदेश जाने बेलामा पनि आफ्नैले विभिन्न प्रलोभन देखाएर हामी गरिबलाई ठगेका छन् ।

अहिले पनि त्यति राम्रो छैन उहाँका लागि परदेश । यहाँ भनेजस्तो त्यहाँ काम र कमाइ छैन । त्यसमाथि कोरोना महामारी के राम्रो होस् । सम्झँदा मन कटक्क दुख्छ । 

किनकि पहिले नै विदेशका बारेमा बुझेर जान पाएको भए सायद आज उहाँले यो दुःख भोग्न पर्दैन थियो कि । 

अहिले मलाई वित्तीय साक्षरता कक्षामा बसेपछि मात्रै थाहा भयो कि विदेश जाँदा सही सूचना र जानकारी पनि लिएर जानुपर्दो रहेछ । हातमा सीप लिएर गएमा काम र कमाइ भने अनुसारकै हुने रहेछ । 

केही गर्छु या गर्न सक्छु भन्ने आँट र जाँगर हुने हो भने त विदेश पनि जान नपर्ने रहेछ । सकेसम्म त आफ्नै देशमा गरी खानु बेस रहेछ । तर यो कक्षामा नबस्दासम्म त मलाई पनि विदेशमा त पैसाकै रुख पो छ कि झैँ लाग्यो । तर अहिले बुझेँ पैसा कमाउन देशमा भन्दा विदेशमा गाह्रो रहेछ । 

विदेश पठाइदिन्छु, राम्रो काम लगाइदिन्छु भन्नेहरूको विश्वास पनि गर्नु नहुने रहेछ । नत्र ठगीमा परिने रहेछ । जसरी मेरो श्रीमान् ठगीमा पर्नुभयो । अब केही समयभित्र सायद मेरो श्रीमान् यतै फर्कनुहुन्छ । अब त मलाई पिर छैन । किनकि किलोमा भैँसी छ । बाख्रा पनि छन् । अब श्रीमान् आउनुभयो भने दुवै जना मिलेर यतै काम गर्छौँ । 

अहिले मासिक बचत पनि गर्दै आएको छु । अब बिस्तारै खर्च घटाउँदै बचत बढाउने योजना छ । मैले तीन वर्षको वित्तीय लक्ष्य बनाएको छु । यो तीन वर्षमा म ऋण तिर्छु, श्रीमानलाई स्वदेश फर्काउँछु र व्यवसाय बढाएर आम्दानी हुने र बचत गर्न सकिने बनाउँछु ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया