विराटनगरमा अत्याधिक गर्मी, जनजीवन कष्टकर बन्दै

 भदौ ३, २०७५ आइतबार २०:३:५० | सुमन तिमल्सिना
unn.prixa.net

पर्सा – विराटनगर महानगरपालिका वडा नम्बर–१० संसारीमाई स्थानमा रहेको श्री भानु मोरङ आधारभूत विद्यालय कक्षा ४ की छात्रा कविता सरदार ठूलो पिपलको फेदीमा बसेर साथीहरुलाई आफुसँगै पढ्न सिकाउँदै थिईन् । 

आइतबार करिब २ बजेको समयमा सामाजिक विषयको किताब हातमा लिएर  उनीसँगै अन्य बालबालिका पनि पढ्दै थिए ।  

उनका अगाडि साथीहरु मात्र हैन एक जना शिक्षिका र प्रधानाध्यापक पनि उनीहरुसँगै रमाईलो मानोर पढाउँदै थिए ।  यसरी बाहिर बसेर पढाउनु रहर भन्दा पनि उनीहरुको यो बाध्यता थियो ।

कक्षा ४ जस्तै अन्य कक्षाका बालबालिका पनि आफ्ना शिक्षकहरुसँग बाहिर बसेर पिपलको बोटमुनीको चौतारीमा पढ्दै थिए  ।

यसको कारण भनेको विराटनगरमा गएको ४ दिनदेखिको अत्याधिक गर्मी नै हो । कक्षा कोठामा पढ्न गाह्रो भएपछि उनीहरु रुखको छहारीमा पढ्ने र पढाउने गरेका हुन\ ।

विद्यार्थीलाई कक्षा कोठामा पढाउन बिजुली नहुँदा टिनको छानामुनि बसाएर पढाउँदा समस्या भएको विद्यालयका शिक्षक शैलेन्द्र नेपालले सुनाउनुभयो ।
‘आज बिहानदेखि नै बिजुलीको लाइन छैन, उहाँले भन्नुभयो, विद्युत प्राधिकरणलाई धेरै चोटी भनिसकेँ, कुनै चासो नै देखाएको छैन ।’

अत्याधिक गर्मीका कारण बिद्यार्थीको पढाई नै प्रभावित हुने भएपछि बाहिरै  राखेर भएपनि पठन पाठन गराईएको स्कुलको प्रअ संजिव घिमिरेले बताउनुभयाे । अत्याधिक  बढेको गर्मीले गर्दा विद्यार्थीलाई कक्षा कोठामा राखेर पढाउन सकिने अवस्था नै नभएको उहाँको भनाई छ ।

यो त विराटनगरमा भएको एउटा विद्यालयको उदाहरण मात्र हो । अत्याधिक गर्मीका कारण सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ । गर्मीका कारण दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गर्नेहरुलाई सबैभन्दा बढी समस्या देखिएको छ ।

विराटनगरको ३८ डिग्रीसम्म रहेको तामक्रमले खुल्ला ठाउँमा काम गरेर गुजारा चलाउने मजदुरहरुको जीवन अरुको भन्दा बढी कष्टकर छ । 

यस्तो गर्मी 

विराटनगरको दिउँसाेकाे तापक्रम (अक्युवेदर डट कम) बाट प्राप्त जानकारी अनुसार ४० डिग्री रहेको पाईएको छ । आज वर्षा हुने कुनै छाँटकाट छैन । त्यस्तै आगामी २ दिनको मौसम अनुसार सोमबार ३३ डिग्री सेल्सिएस हुने तथा मंगलबार ३३ डिग्री हुने अनुमान छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया