अभिमुखीकरण तालिम पाठ्यक्रम परिमार्जन,अब वैदेशिक रोजगारमा जानुअघि सिकाइन्छ यी कुरा

 फागुन २३, २०७७ आइतबार १८:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रम कार्यान्वयन आएको छ ।  २०६९ फागुन २ गते स्वीकृत भई कार्यान्वयनमा रहेको पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रमलाई ससमयसापेक्ष रूपमा परिमार्जन गरी वैदेशिक रोजगार बोर्डले कार्यान्वयनमा ल्याएको हो । 

वैदेशिक रोजगार बोर्डले पाठ्यक्रमलाई ससमयसापेक्ष बनाउनका लागि विभिन्न चरणमा सर्वोच्च अदालत,राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र समय समयमा नेपाल सरकारद्वारा  गठन भएका कार्यदलबाट प्राप्त राय, सुझाव र निर्देशनलाई आत्मसाथ गर्दै देशगत रुपमा नै हुने गरी पाठ्यक्रम परिमार्जन गरेको हो । 

परिमार्जित पाठ्यक्रमलाई गएको मंसिर १० गते बोर्डबाट स्वीकृत भएपछि वैदेशिक रोजगार बोर्ड सचिवालयले कार्यान्वयनमा ल्याएको हो । 

परिमार्जित पाठ्यक्रमले नेपालको वैदेशिक रोजगार सम्बन्धी कानुन, काम गर्न जाने देशको श्रम कानुन, अध्यागमन र ट्राफिक नियमको जानकारी, गन्तव्य देशमा भौगोलिक, सामाजिक, सांस्कृतिक, राजनैतिक भाषिक, धार्मिक पक्षको आधारभूत जानकारी र त्यही अनुसार अपनाउन पर्ने आचरण, ज्ञान र सीप लगायत समेटेको छ । 

यस्तै परिमार्जित पाठ्यक्रमले श्रमिकको शारीरिक तथा मानसिक स्थिति, संवेगात्मक स्थिति, काम गर्दा सुरक्षित र सही तरिकाले काम गर्ने उपायहरू, कमाएको पैसाको सुरक्षित तरिकाले स्वदेश पठाउने सही माध्यमहरूसमेत समेटेको छ । 

साथै यो पाठ्यक्रमले अभिमुखीकरण तालिममा सहज र सुरक्षित यात्राको बारेमा जानकारी दिनुका साथै पूर्व तयारी, प्रस्थान विन्दुबाट आफू पुग्ने ठाउँसम्मको यात्रा बारे जानकारी, करार पत्रको बारेमा जानकारी, कार्यस्थलमा अपनाउनु पर्ने सुरक्षा, हुन सक्ने दुर्घटना, बच्ने उपाय र व्यवसायजन्य सुरक्षाको बारेमा पनि जानकारी गराइन्छ । साथै यो अभिमुखीकरणमा विदेशमा समस्या परे सहयोग लिने ठाउँका बारेमा जानकारी, सूचना र प्रविधिको प्रयोगबारे जानकारी लगायतका कुरा पनि समावेश गरिएको छ । 

तालिमको प्रभावकारिताको लागि अब श्रम मन्त्रालयको कल सेन्टरबाट अनलाइन प्रणालीको प्रयोग गरी नियमित अनुगमन गरिने बोर्डले जनाएको छ । 

बोर्डले पूर्व प्रस्थान अभिमुखीकरणलाई अझ प्रभावकारी बनाउनका लागि परिमार्जित पाठ्यक्रमका बारेमा जानकारी गराउन देशभरका प्रशिक्षकहरूलाई दुई दिने पुनर्ताजगी तालिम समेत दिएको छ ।

तालिमको समापन समारोहमा बोल्दै मन्त्री मन्त्री गौरीशंकर चौधरीले नयाँ परिमार्जन गरिएको पाठ्यक्रमले श्रमिकलाई फाइदा हुने बताउँदै अभिमुखीकरण तालिम थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कतिपय सन्दर्भमा प्रमाणपत्र दिने तर अभिमुखीकरण तालिम चाहिँ नलिइएको पाइएको भन्दै श्रम मन्त्री चौधरीले अब मन्त्रालय आफैँले अनुगमन गर्ने पनि उल्लेख गर्नुभयो । 

कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले नयाँ पाठ्यक्रमलाई कडाइका साथ लागु गरिने र अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो ।

पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन बोर्डले आवश्यक पाठ्य सामग्रीहरू तत्काल उपलब्ध गराउने र अभिमुखीकरण तालिमको नियमित अनुगमन गर्दै अभिमुखीकरणलाई अझ गुणस्तरीय बनाउने पनि बताउनुभयो । 

अभिमुखीकरणलाई प्रभावकारी बनाउनको लागि प्रशिक्षकहरू मेरुदण्ड भएको उल्लेख गर्दै कार्यकारी निर्देशक श्रेष्ठले बोर्डले प्रशिक्षकको नाम र सम्पर्क नम्बरसमेत प्रकाशन गर्ने उहाँको भनाइ छ ।

अभिमुखीकरण व्यवसायी महासङ्घले भने परिमार्जित पाठ्यक्रमले सबै कुरा नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष रामराजा गौतमले नयाँ पाठ्यक्रमले वर्तमान माग सम्बोधन गरेको र समयानुकूल बनाइएको भए पनि दुई दिनको तालिममा शुल्कको विषयमा कुनै कुरा उल्लेख नगरेको बताउनुभयो । 

श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले तालिम शुल्क समयानुकूल बनाइने आश्वासन दिनुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया