अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई एमाले केन्द्रीय कमिटी बैठकको निर्देशन, ७० वर्षे उमेर हद हट्यो

 फागुन २८, २०७७ शुक्रबार २२:५८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ- सत्तारुढ नेकपा (एमाले) को शुक्रवार सम्पन्न केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेश सभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वान गर्दै बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यलाई पार्टी निर्णयअनुरूप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशित गरेको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध कतिपय सो पार्टीकै सांसद र नेकपा (माओवादी केन्द्र) का सांसदको हस्ताक्षरका आधारमा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको थियो । 

दुई पार्टीबीच २०७५ जेठ ३ गते भएको एकता बदर भएकाले फेरि एकता गर्ने भएमा आवेदन  ल्याउन निर्वाचन आयोगले दिएको म्यादभित्र एकता सम्भव नभए पनि सही विचार र सङ्गठनका आधारमा कम्युनिस्ट एकताको प्रयासलाई जारी राख्ने एमाले बैठकले निर्णय गरेको बैठकपछि सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले  अदालतको निर्णय ‘जे जस्तो रहेको भए पनि’ यसलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय गरेको छ । बैठकले सबै पक्षसँग खुल्ला संवाद र छलफल गर्दै कम्युनिष्ट आन्दोलनलाई उचित र सही वैचारिक तथा सङ्गठनात्मक आधारमा एकताबद्ध बनाउने प्रयास जारी राख्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले पार्टीका सबै नेता कार्यकर्तालाई विगतका गल्तीलाई सच्याउँदै आत्म समीक्षाको भावनाका साथ पार्टीमा क्रियाशील हुन आह्वान गर्दै पार्टीमा सदस्यता प्राप्त गर्दा तथा आफ्नो जिम्मेवारी बहन गर्दा लिएको शपथकोे मर्म र भावनालाई पालना गरी देश, जनता र आन्दोलनको हितलाई केन्द्रविन्दुमा राखेर एकताबद्ध भई अगाडि बढ्न सबैसँग आग्रह गरेको छ । यस बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेता भने उपस्थित थिएनन्, उनीहरूले यो निर्णयबाट असन्तुष्ट भएको जनाएका छन् ।

बैठकले पार्टी एकीकरणका बेला पार्टी एकता र नेतृत्वको पक्षमा उभिएका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साहलगायत नेकपा (माओवादी–केन्द्र) पृष्ठभूमिका २३ जनालाई केन्द्रीय कमिटीको जिम्मेवारीमा स्थापित गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी महाधिवेशनको समयावधि, उमेर हद (७० वर्ष), कमिटीको संरचनालगायत कतिपय प्रश्नमा नवौँ महाधिवेशनबाट पारित विधानका व्यवस्थालाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन बाधा अड्काउ फुकाउने पनि निर्णय गरेको छ । बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि थप केही सङ्गठनात्मक प्रबन्ध गर्ने निर्णय गर्दै अर्को निर्णय नहुँदासम्म मातहतका कमिटीलाई पूर्ववत् क्रियाशील रहन आह्वान गरेको छ ।

बैठकमा अध्यक्ष ओलीले यसबीचमा पार्टी र आन्दोलनलाई समाप्त पार्न र आफ्नो पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरेर बुर्जुवा वर्गको हातमा नेतृत्व सुम्पिन गम्भीर षडयन्त्र गरिए पनि आम जनताको साथ र पार्टीका प्रतिबद्ध नेता कार्यकर्ताको सक्रियताले त्यसलाई विफल पारिएको बताउनुभएको थियो । “सबैलाई अब जनताको समस्यामा केन्द्रित हुन र पार्टीलाई एकताबद्ध, अनुशासित, वैचारिक रुपमा स्पष्ट एवं जनताको मनमनमा भिजेको पार्टीका रुपमा स्थापित गर्न सक्रिय योगदानका लागि आह्वान गर्दछु”, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले सङ्कटको बेलामा सही नेतृत्व र सही विचारका पक्षमा दृढतापूर्वक उभिने नेता र आमजनतालाई विशेष धन्यवाद दिनुभएको थियो । बैठकको सञ्चालन महासचिव ईश्वर पोखरेलले गर्नुभएको थियो भने एकीकरण पश्चात्को लगभग तीन वर्षको अवधिमा कुशलतापूर्वक महासचिवको जिम्मेवारी बहन गर्नुभएकोमा विष्णुप्रसाद पौडेललाई धन्यवाद ज्ञापन गरिएको थियो । केन्द्रीय कमिटीको नियमित बैठक यही २०७७ साल चैत ७ गते बस्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया