सांसदलाई तह लगाउने बजेट आएको भन्दै संसदमै रोए सांसद

 जेठ १७, २०७५ बिहिबार १५:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १७ – सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रुनुभएको छ ।

२०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधिसभा बैठकमै रुनुभएको हो । समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ भन्या ? हामीलाई तह लगाउन पाइन्छ ? हामीलाई अपमानित गर्न पाइन्छ ? हामीलाई वडाअध्यक्षको ठाउँ राख्न पाइन्छ भन्या ? कोही मन्त्री हुँदैमा पाइन्छ ? त्यो अधिकार कसैलाई छ ?, चाहिने कुरा गर्नुहोस् न भन्या । चाहिएको छैन हामीलाई ४ करोड ।’
 ४ करोडले आफूहरुको असाध्यै अपमान गरेको भन्दै सांसद गजेन्द्रले भन्नुभयो, ‘स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्य बसालेर विनियोजन गर्नुपर्ने ? कही मिल्ने कुरा हो ? कसैले सहन्छ ?’

आफ्नो विरोधले केही नहुँने जान्दा जान्दै पनि आफूले बजेटप्रतिको असन्तुष्टि राख्नु परेको उहाँको भनाई थियो । ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन । कमजोर बस्तुको बचाउ गरिन्छ बलियो बस्तुको सायद बचाउ गरिन्न । सितिमिति सायद यो हल्लिदैन’, उहाँले अगाडि भन्नुभयो, ‘स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो, तपाईँहरुको विरोधले मलाई केही हल्लाउँदैन । मैले त्यही शब्द सापटी लिएँ ।  विरोधले खासै हल्लिने देख्दिनँ । तर पनि बजेटले मलाई हल्लाइरहेको छ । हुम्लालाई हल्लाइरहेको छ ।’

बजेट शहर केन्द्रित भएको भन्दै उहाँले कर्णाली र जुम्लालाई बजेटले सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । ‘बजेट मेरा लागि आकाशको फल आँखा तरी मर, लंकामा सुन छ कान मेरो बुच्चै, न घरको न घाटको, न  हर्ष न विस्मात छ’, उहाँले भन्नुभयो, ‘मेरा लागि र मेरो जुम्लाका लागि ।’

रोजगारीको जिम्मा सबै बैंकलाई र स्वास्थ्यको जिम्मा बीमा संस्थानलाई दिने सरकारको नीति गलत भएको टिप्पणी गर्नुभयो । ‘हिजोका सामन्त र मुखियाहरुले आज बैंक थापेर बसेका छन्, जसलाई रोजगारीको जिम्मा लगाइएको छ । स्वास्थ्यको जिम्मा बीमा संस्थानलाई लगाइएको छ । कर्णाली र जुम्लाका नागरिक बीमाको कागत लिएर कहाँ जाने ? काठमाडौं आउन जान ५० हजार रुपैयाँ भाडा लाग्छ’, सांसदले प्रश्न गर्नुभयो, ‘बीमा कागज लिएर म कता जाने ?’

सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै उहाँले अनुपस्थित सांसदहरुप्रति सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले सांसदलाई अपमान नगर्न अर्थमन्त्रीलाई सचेत पनि गराउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले सोच्नुहोस्, कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाईदैन ।’

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • akrosh jwala

    May 31, 2018, 5:31 p.m.

    4carod bajet le pugen sansad jyu tapai haru kati drama garnuhunchha neta ji

  •  0 Reply

तपाईको प्रतिक्रिया